हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा

| 2022 May 29 | 10:10 am 1409

हुम्ला जेठ १५ः गत मङ्सिर महिनाबाट बन्द हुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको स्वास्थ्यचौकी खुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुग्दा बन्द रहँदै आएको स्वास्थ्यचौकी सञ्चालनमा आएको हो ।

लिमी हल्जी गाउँका खेण्डाप तामाङले गत मङ्सीरबाट बन्द हुँदै आएको स्वास्थ्य चौकी एक जना स्वास्थ्यकर्मी गाउँपालिकाबाट आई पुगेपछि सञ्चालनमा आएको बताए । उनले स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै बिरामीको उपचारमा सहजता आएको बताए । गत दशै तिहारपछि एक पटक लिमी पुगेका स्वास्थ्यकर्मी हिमपात हुँदा फिर्ता भएयता फर्किएका थिएन । उनले नारा र न्यालु लेकमा जमेको हिउ पग्लिएपछि केही दिन अगाडि स्वास्थ्यकर्मी न्यालुबाट लिमी पुगेर स्वास्थ्यचौकी सञ्चालनमा आएको बताए ।

स्वास्थ्य चौकी खुलेकै दिन दश जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । बढी जनसङ्ख्या भएको हल्जी गाउँमा स्थापना भएको स्वास्थ्य चौकीमा उक्त गाउँका बिरामीको उपचार हुने गरेको छ भने अन्य तील र जाँङ गाउँका बिरामीका लागि भने स्वास्थ्यकर्मी घरघरमा पुगेर उपचार गर्ने गरेका छन् ।

लिमीका गाउँमा जटिल रोगका बिरामी हुँदा ब्यक्तिगत खर्च गरेर हेलिकोप्टर चार्टर गरेर उपचार सूविधा लिनु पर्ने वाध्यता अव हटेको छ । नाम्खा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले हिउमा लिमीकै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्नका लागि धेरै प्रयास गरिएको तर बस्न नमान्नेलाई जागिरबाट हटाइएको  बताए । उनले खटिएका स्वास्थ्यकर्मी बस्न नमानेपछि आर्युवेदिक औषधिका लागि गाउँपालिकाबाट वडा कार्यालयको आग्रहमा आर्थिक सहयोग गरेर बिरामीको उपचार गरिएको बताए । लिमी जाने बाटो खुलेपछि तत्काल स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यकर्मी लोकश बोहरा पुगेपछि उक्त स्वास्थ्यचौकीमा स्थापना भएको नयाँ प्रसूतिगृह पनि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.