काठमाडौं, साउन ९ः हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले विशालबजारबाट एक युवालाई १९ लाख ९१ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङजा कालिगण्डकी गाउँपालिका–५ घर भई हाल काठमाडौं–२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् ।
उनलाई विशालबजारमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा शुक्रबार दिउँसो पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
न्यौपाने हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी हुन् । उनलाई प्रहरीले स्पष्टि करण लिँदा स्रोत नखुलेको रकम फेला परेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
उनले भाइबरमार्फत हुण्डी कारोबार गर्ने गरेको विवरण फेला परेको थापाले बताए।
पक्राउ परेका न्यौपानेलाई प्रारम्भिक अनुसन्धानपछि कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइने महाशाखाले जनाएको छ।