हुकुम्बासीका अगाडि सुकुम्बासी निरिह

रिपोर्ट नेपाल | 2019 Apr 12 | 12:46 pm 2147

ललितपुर, चैत्र २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना शासनकालमा कोही भोकै नाङ्गै र सडकमा बास गर्न नपर्ने उद्घोष गरिरहेकै बेला ललितपुर महानगरपालिका वडा नम्बर २५ की एक असहाय एकल महिलाले आफ्नै जग्गामा घर बनाउन पाएकी छैनन् ।

प्राप्त समाचार अनुसार २०७२ सालको महाभुकम्पले आफ्नो भएको झुपडी भत्काइदिएपछि आफ्नै बहिनीको टहरोमा रात काट्दै आएकी लिलादेवी थापा मगरले वडा कार्यालयमा पटक पटक नक्सा पासका लागि निवेदन दिँदा समेत दुःख दिइएको छ ।

श्रीमान् पेन्टर काम गर्दा घरबाट खसेर २०६० सालमा गुमाएर अनेक श्रम गरेर दुईजना छोरालाई हुर्काउँदै आएकी लिलादेवीलाई आफन्त र केही सहयोगिको सहयोगमा वाल सिस्टमको एक तले घर निर्माण गर्न अत्यन्तै दुःख दिइएको छ ।

रिपोर्ट नेपालसँग दुखेसो पोख्दै लिलादेवीले निर्माणका लागि जोहो गरेको सिमेन्ट बिग्रीयो, थुप्रै पटक वडा र नगरमा गए तर अनेक झमेला लागाइदिने गरेको बताइन । भू–माफियाहरुले बालुवाटारदेखि थुप्रै सार्वजनिक जग्गा कब्जा गर्दा उनीहरबाट कमिशन खाने कर्मचारी तन्त्रले लिलादेवी जस्ता अवला महिलाबाट घुस खान नपाएकै कारण दुःख दिने गरेका छन् ।

रातदिन परिश्रम गरेर स्वाभिमानी जिन्दगी बितएकी लिलादेवीलाई यस्तै दुःख दिने हो भने स्थानीयबासीले उनलाई साथ दिएर वडा कार्यालय घेराउ नगर्लान भन्न सकिन्न । उनले वर्षा याममा टाउको लुकाउने झुपडी बनाउनका लागि आफू सक्दो सहयोग गरिदिन पनि दानवीरहरुसँग आग्रह गरेकी छन् ।

सरकारले कुनै पनि नेपाली सुकुम्बासी हुन नपरोस भन्दै बस्ती बसाउने सोच बनाइरहेका बेला लिलादेवीलाई आफ्नै पुर्जा भएको जग्गामा घर निर्माण गर्न नदिनुका कारण अरु केही नभएर उनको गरिबी र बोलिदिने मान्छे नभएकै कारण हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.