हुम्ला, जेठ २६: तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि देखिएको छ । गएको वर्षमा हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले एक साताभित्र हुम्लाका दक्षिणी ताँजकोट, अदनचुली, सर्केगाढलगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखा परेको जनाएको छ ।
महाशाखाबाट हुम्लामा खटिएका चिकित्सक अरुणप्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखा पर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीमा देखा परेको बताए ।
हिमाली जिल्लाहरुमा तापक्रम बढेपछि मुगु, बाजुरा र हुम्लामा औलोको लक्षण देखा परेको छ । जिल्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि गर्भवती महिलालाई निःशुल्क झुल र औषधी वितरण गरिएको चौधरीले जानकारी दिए ।
हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए पनि हुम्ला बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले खुलासा गरेको छ । हुम्लामा देखा परेको औलौ स्थानीयस्तरको रोग रहेको महाशाखाको ठम्याइ छ ।
जिल्लामा देखा परेको औलोले सामान्य असर गर्ने खाले भएकाले अहिलेसम्म ठूलो असर नपुगेको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख तुलसी अधिकारीले बताए । नेपाल समाचारपत्रमा प्रकाशित