हिमालपारिका दुई जिल्लामा हिउँ नपर्दै अत्यधिक चिसो

| 2023 Jan 03 | 07:46 am 1165

मुस्ताङ, पुस १९ः यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको तिलिचो तालको पानी जमेको छ । तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन् ।

चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरूपमा जमेका छन् ।समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ ।

यसै गरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । घरका धारा र सेफ्टी ट्यांकी पानी जम्दा जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले बताए । उनले भने– ‘चिसो सिरेटोले बाहिर निस्कन मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।’

उनले खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्ने गरेको बताए । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि, हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ ।

चिसोकै कारण माथिल्लो मनाङका नागरिक निर्वाचन सकाएर जाडो छल्न बेंसी झरिसकेका छन् । मनाङका सामुदायिक तथा गुम्बा विद्यालय पनि घुम्तीका लागि बेंसी झरेका छन् । अत्यधिक चिसोले गर्दा पशुचौपाया र गोठालालाई समेत सास्ती खेप्नुपरेको छ । तल्लो मनाङ अर्थात् चामेमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.