१३औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं । एघाराैं गणतन्त्र दिवसको साइत पारेर २०७५ जेठ १५ गते तत्कालिन सभामुख कृष्णबहादुर महराको हातबाट रिपोर्ट नेपाल डटकमको शुभारम्भ भएको हो ।

कस्तो शासन व्यवस्था अपनाउने ? भन्ने मुद्धामा हाम्रो देशले करिव ७० वर्षको समय खेर फालिसेकेको छ । नेपालमा गणतन्त्र स्थापना भए सँगै मुलुकको राजनीतिक मुद्धा समाप्त भएको छ भन्ने हाम्रो मान्यता हो । अब हाम्रो देशको लक्ष भनेको संमृद्ध नेपाल र खुशी तथा सुखी नेपाली नै हो । यो लक्ष्यमा धेर थोर योगदान पुर्याउन सकियोस र व्यवसायिक पत्रकारिताको माध्यमबाट जिविकोपार्जन पनि गर्न सकियोस भन्ने ध्येयका साथ हामीले रिपोर्ट नेपालअनलाईन प्रकासन प्रारम्भ गरेका हौं । दुई वर्षको यो यात्रामा हामी अत्यन्त उत्साहित छौं । तर जनताको ठूलो बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक शासन व्यवस्थाले स्थायीत्व ग्रहणका लागि जसरी यात्रा गर्नु पर्ने हो , त्यस्तो देखिएको छैन । यसर्थ हामी चिन्तित पनि छौं । सायद हाम्रो प्रयत्न नपुगेको पनि हुनसक्छ ।
प्रतिनिधिसभामा ४० प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा कुनै एक पार्टीको बहुमतको सरकार बन्नु सुखद कुरा हो , तर संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमै नेपालमा एउटै पार्टीको बहुमतको सरकार बन्यो । यो नोपलका लागि ज्यादै ठूलो अवसर थियो , तर सरकारले त्यो अवसरलाई सदुपयोग गर्न सकेन । सुरुका दुई वर्ष प्रतिपक्षी पार्टीलाई कमजोर बनाउनमै सरकारले भएभरको सामर्थ्य प्रयोग गर्यो । तर, कोरोनाको महामारीका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएका करण सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहेन । जनतामा तिब्र गतिमा निराशा फैलिएको छ । निराशाको यही गतिमा काम हुने हो भने मुलुकमा विद्रोह टाढा छैन । यो निराशालाई आफ्नो पोल्टामा पार्न एकातिर विप्लव माओवादी र अर्कातिर राजावादीहरु पोल्टो थापेर बसेका छन् । तर सरकार गम्भीर छैन । आज राष्ट्रिय सहमतिका साथ अघि बढ्नु आवश्यक भइसकेको छ ।
एकातिर सीमा विवादका कारण छिमेकी मुलक भारतसँग सम्वन्ध चिसिएको छ । अर्कातिर कोरोनाको महामारी यही गतिले बढ्ने हो भने विरामीलाई राख्नका लागि अस्पतालको बेडले धान्ने अवस्था रहन्न । मुलक विगत दुई महीनादेखि लकडाउनमा छ । यो लकडाउन कति लम्विने हो ? ठेगान छैन । लकडाउनको अवधीमा पनि भारतबाट संक्रमण बोकेर आउनेहरुको ओइरो लागेको छ ।
देश माथि परेको यो संकटलाई पार लगाउन राज्य संयन्त्रलाई सहयोग गर्ने काम चौथो अंगको पनि हो । यो मामिलामा हामी आफ्नो सामर्थ्यले भ्याएसम्म इमान्दारिताका साथ जुटेका छौं । हाम्रो दुई वर्षको यात्रामा अनेकौ आरोह अवरोह उत्पन्न भए । जतिसुकै जटिल परिस्थितिमा पनि हामी आफ्नो कर्म र दायित्वबाट बिचलित भएका छैनौं । कोरोना भाइरसले संसारलाई आतंकित र आजित पारिरहेको बेला , मुलुक लकडाउनमा रहेका बेला जनतालाई सूचनाको तिर्खा अझ बढी लाग्नु स्वभाविकै हो । यसर्थ यस्तो संकटका बेला हामी थप खटिनु परेको छ । लामो समयदेखिको लकडाउनका कारण पनि हाम्रो दायित्व बढेको हो ।
संस्थाले भरखर दुई वर्ष पार गरेपनि संस्थामा विगत २०औं वर्षदेखि निरन्तर पत्रकारितामा संलग्न साथीहरुको भरपर्दो टिम छ । विगतको अनुभवले वर्तमान र भावी यात्रा तय गर्न हामीलाई थप हौसला मिलेको छ ।
बार्षिकोत्सवमा विविध कार्यक्रम गरी मनाउने हाम्रो सोचलाई कोभिड १९ महाविपत्तिका कारण स्थगित गर्न वाध्य भयौं । हाम्रो विशेष कार्यक्रम गर्ने चाहाना पूरा हुन नपाए पनि पाठकलाई सूचना पस्कनका लागि निरन्तर लागि परेका छौं । संकटको यो घडिमा पनि साधन र श्रोतले भ्याएसम्म सूचना प्रवाहका लागि निरन्तर खटिरहने विश्वास हामी आम पाठक वर्गलाई दिलाउन चाहान्छौं ।
बुद्धभूमि संचार गृहबाट पाठकको हातहातमा र कोठाचोटामा पुग्ने रिपोर्ट नेपाल डटकम लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसात गर्दै विधिको शासन, संघियता, राष्ट्रियता र स्वधिनता प्रति प्रतिबद्ध रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व लिँदै गर्दा दिएका अभिव्यक्ति सपनामा परिणत भएका छन् । दुई तिहाइको नेतृत्व पाएको सरकारले अव मुलुकलाई स्थायित्व, शान्ति र समृद्धी प्रदान गर्दै मुलुकले भोग्दै आएको संक्रमणकालिन चरित्र कहिल्यै नफर्किने गरी बिदा पाउनेछ भन्ने आशा र विश्वास गरिएको थियो । यो आशा र विश्वासमा तुषारो नपरोस् भन्ने कमना गर्दछौं ।
मर्यादीत र विश्वासनीय पत्रकारिताका लागि रिपोर्ट नेपाल डटकम सधै सकृय रहेनछ । रिपोर्ट नेपालको दोस्रो बार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता र शुभचिन्तक प्रति हार्दिक आभार र सम्मान प्रकट गर्न चाहान्छौं । यहाँहरुबाट आउँदा दिनमा पनि सही सुझाव पाउने आशा गरेका छौं ।
कृष्ण प्रसाद सापकाेटा
निर्देशक