हाम्रो खुकुरीमा अझै खिया लागेको छैन

रिपोर्ट नेपाल | 2020 May 15 | 01:37 pm 3807

  • बसन्त भुजेल

हज्जारौं वर्षको इतिहास बोकेको हाम्रो मुलुक नेपाल भौगोलिक हिसावमा कहिले निकै ठूलो र कहिले निकै सानो भएको पाइन्छ । कुनै बेला पश्चिममा अफगानिस्तानको बामियानदेखि पूर्वमा कम्वोडियाको एंकर सम्म नेपाल फैलिएको थियो । कालान्तरमा टुट्दै फुट्दै र लुटिँदै काठमार्डौ उपत्यकामा सिमित भयो । पछिल्लो पटक गोर्खाका दूरदर्शी राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण अभियान सुरु भयो । यो अभियान अन्तरगत पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्मको भूभाग कायम भयो । तर भीमसेन थापाले शासन चलाएको बेला सन् १८१६ मा व्रिटिश सँग सुगौली सन्धी गर्नु पर्ने वाध्यता आइपर्यो । जसका कारण पुर्व तर्फ मेची देखि टिष्टा सम्मको र पश्चिम तर्फ महाकालीदेखि शतलजसम्मको भुभाग हामीले गुमाउनु पर्यो ।

विगत दुई सय वर्ष देखि हामी पश्चिममा महाकाली र पूर्वमा मेची सम्म छौं । तर पश्चिम तर्फको सीमानामा भारतले लामो समय देखि किचलो गदै आएको छ । महाकाली हाम्रो सिमाना हो तर महाकालीको उद्गम भेग लिम्पयाधुरामा भारतले करिव ४० किलोमिटर सीमा मिचेको छ । अर्थात महाकालीको उद्गम भन्दा ४० किलोमिटर वर कालापानी भन्ने ठाउँमा लामो समयदेखि भारतीय सेना तैनाथ छन् । २०१९ सालमा चीन र भारत बीच युद्ध हुँदा भारतीय सेनाले हाम्रो यो भूभाग ओगटेका थिए । पञ्चायती व्यवस्था जोगाउने स्वार्थका कारण तत्कालिन राजा महेन्द्र चुप लागेर बसिदिए । जनताले थाहा पाएनन् । जब २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई जन प्रतिनिधिहरुको सरकार बन्यो , त्यस पछि मात्रै संसदमा जनप्रतिनिधिहरुले यो कुरा उठाए । यस पछि मात्रै जनताले थाहा पाए । कालापानीका विषयमा संसदमा पहिलो पटक कुरा उठाउने दार्चुलाका जनप्रतिनिधि प्रेमसिंह धामीको कार दुर्घटनामा परी रहस्यमय निधन भएपछि जनप्रतिनिधिहरु पनि यस विषयमा कुरा उठाउन डराएका हुन् की भन्ने संकेत देखिन्छ ।

राजाको संक्रीय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुर्नबहालीपछि बनेका हरेक सरकारका प्रतिनिधिले भारतीय समकक्षी सँगको भेटमा कालापानीका विषयमा कुरा राख्दै आएको पाइन्छ । तर भारतले टेर पुच्छर लगाएको छैन । उल्टो अतिक्रमित भूभागमा सडक निर्माणको काम तिब्र बनाइ रहेको छ । केही दिन अघि सडकको ट्र्याक उद्घाटन गरिसकेको छ । अब हामी के गर्ने ? भन्ने प्रश्न यति बेला अहम बनेको छ । भारतले हामीलाई पेलेरै जान खोजेको पो होकी जस्तो देखिन्छ । यो मामिलामा हाम्रा कमजोरी धेरै छन् । यो मामिलामा नेपाली सेना चुकेको हो कि ? भन्ने आशंका गर्ने आधार धेरै छन् । तर यो परिस्थितिमा आफ्नै देशको सेनाको कमजोरी कोट्याउनु उचित हुन्न । राजा महेन्द्रको दोष उधिनेर समय खेर फाल्नु पनि उचित हुन्न । यति बेला त सबै नेपाली एक जुट भएर आफ्नो भूभाग कायम गर्ने अभियानमा लाग्नु पर्छ । हामी सँग यो ताकत छ ।

पहिलो विश्वयुद्धमा गोर्खाली वीरता देखेपछि जर्मन सम्राट कैजर विलियम (द्वितीय)ले ‘म मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर डर मान्दिनँ तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ’ भनेको कहावत छ । जर्मनीका हिटलरले भनेका थिए – ‘विश्वका कुनै पनि सेना सँग लड्न तयार छु तर गोर्खाली सँग मेरो खुट्टा काँप्छ ।’ फिल्ड मार्शल मानिक शाले भनेका छन् – ‘मर्न सँग डर लाग्दैन भन्छ भने वा मर्न तयार हुन्छ भने की त्यो पागल हुनु पर्छ , की गोर्खाली हुनु पर्छ , एउटा खुकुरीको भरमा आधुनिक हतियारधारीलाई परास्त गर्नु सामान्य कुरा होइन । पहिलो र दोस्रो विश्वयुद्धमा १३ जना गोर्खा सैनिकले सर्वाेच्च ब्रिटिस युद्धपदक भिक्टोरिया क्रस पाएको कुरा यहाँनिर स्मरणीय छ ।

आज विश्वले हामीलाई चिन्ने भनेको वीर गोर्खालीको नामले हो ।
नामको पछाडी केही न केही जोडिएको छ । पहिलो र दोस्रो विश्व युद्धमा जर्मन हिटलर तथा जापानी तानाशाहलाई गोर्खालीले घुँडा टेकाएका थिए । र विश्वमा शान्ति ल्याएका थिए । पहिलो र दोस्रो विश्वयुद्धमा व्रिटिसको पक्षमा गोर्खाली लडे । कहिल्यै घाम नअस्ताउने देशको सेनाको मुख्य मेरुदण्ड भनेकै गोर्खालीहरु थिए । फकल्याण्ड र अफगानस्तानमा गोर्खालीहरु मात्रै लडे । गोर्खालीहरु वीश्वमा प्रख्यात हुनुको कारण बहादुरीको साथै इमान्दार र विश्वासिलो हुनु पनि हो । अहिले हामीलाई लोयालिटीको खाँचो छ । सच्चा , इमान्दार राष्ट्रभक्तको खाँचो देशलाई छ । हामी भन्दा पछि स्वतन्त्र भएका देशले धेरै फड्को मारिसकेका छन् । तर हामी झन् झन् पछाडी धकेलिइरहेका छौं । यो अत्यन्त खराव संकेत हो । के हाम्रो देशलाई अफगानस्तान, सिरिया लगायतका देश जस्तै अस्थिरता तिर लगेर सिकिम बनाउँन खोजिएको त छैन ? घटनाक्रमले यस्तै देखाउँछन् । हतारमा गरिएको निर्णयले फुर्सदमा पछुताउनु भन्दा अहिले नै हामी राष्ट्र जोगाउने महायज्ञमा जुटिहाल्नु पर्छ । नेपाल कुनै एक व्यक्ति वा परिवारले निर्माण गरेको होइन । हज्जारौं वर्षको इतिहास छ । पुर्खाहरुले सानो दुःखले नेपाल निर्माण गरेका होइनन् ।

थ्रि डी अर्थात डिफिकल्ड , डर्टी र ड्यान्जर कामका लागि गोर्खाली भन्ने गरिएको पनि छ । के हामी नेपाली थ्रि–डी का लागि मात्रै हौं त ? अवश्य होइनौ । युवा र चेलिवेटिलाई विदेशमा शोषण गराएर त्यसवाट आएको रेमिटेन्सले वीर गोर्खालीले गौरव गर्न सुहाउँछ ? जलस्रोतकोधनी देश । युरेनियमको धनी देश , खानी खनिजको धनी देश , जडीवुटी तथा पर्यटकीय दृष्टिले धनी देश , कृषिले धनी देश । वीर पूर्खाले सिकाएको बहादुरी फेरी प्रदर्शन गर्नु पर्ने बेला आइसकेको छ । वीर गोर्खालीको खुकुरीमा अझै खिया लागेको छैन । वीर गोर्खालीको छातीमा अझै तातो रगत बाँकी छ । अब पनिहामी सच्चिएनौं भने हाम्रो देश रहने छैन । संसारका सीमा रक्षा र त्यहाँको स्वतन्त्रताको लागि लड्ने र पहरेदारी गरिदिने गोर्खालीको काँधमा फेरि आफ्नै मुलुकको अस्तित्व जोगाउने जिम्मेवारी आएको छ । तेल लगाएर सुरक्षाकासाथ दापमा राखिएका खुकुरी अब फेरि गोर्खालीले झिक्नुपर्ने बेला आएको त होइन ?

यहाँ निर म एउटा उदाहरण प्रस्तुत गर्छु । सन् १९८२ मा दक्षिण अमेरिकाको फकल्यान्ड टापुलाई नियन्त्रणमा लिन बेलायत र अर्जेन्टिनाबीच निर्णायक लडाँइ सुरु भयो । मुख्य बेलायती भूमिबाट आठ हजार माइल टाढा रहेको यो द्वीप कब्जामा लिन बेलायतले आफ्नो जल तथा वायु सेनाका दुईवटा बटालियन पठायो । तर, टापु कब्जा गरी बसेको अर्जेन्टिनी सेनाको क्याम्प पोर्ट स्ट्यान्लीमाथि गोरा सैनिकले कब्जा जमाउन सकेनन् । ज्यान गुमाउने ब्रिटिस सैनिकको संख्या बढ्दो थियो । कठिन स्थिति आकलन गर्दै बेलायतले एक बटालियन गोर्खा सैनिकलाई त्यहाँ पठाउने निर्णय ग¥यो । जब गोर्खा सैनिक फकल्यान्ड पुगे, युद्धको नतिजा फरक आयो । ‘आयो गोर्खाली !’ अन्यत्रका युद्धमा झैँ फकल्यान्डमा पनि ठ्याक्कै यसै भन्दै जब अर्जेन्टिनीमाथि गोर्खाहरूले धावा बोले, सुरुङभित्रबाट लडिरहेका अर्जेन्टिनी सैनिक बाहिर निस्केर धमाधम आत्मसमर्पण गर्न थाले । किनकी ‘खुकुरीका भरमा पनि एक्लै सयौँसँग लड्न सक्छन् गोर्खाली । तिनले हार्न जानेका छैनन् । तिनीसँग लड्नु भनेको व्यर्थमा ज्यान गुमाउनु मात्र हो ’ भन्ने अर्जेन्टिनीहरुले थाहा पाइसकेका थिए ।

दुईवटा विश्वयुद्धमा युरोपदेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि बर्मासम्म र त्यसपछिका मलाया, ब्रुनाईलगायतका युद्धमा गोर्खाली (नेपाली)ले जस्तो वीरता प्रदर्शन गरे, त्यसबारे सुनेका कारण पनि गोर्खा फौजको नाम सुन्ना साथ धेरैको सातो जान्छ । आफ्नो ज्यानभन्दा वीरता र विजयलाई प्राथमिकता दिँदै लडेका कारण विश्वव्यापी रूपमा वीरता र सुरक्षाका लागि गोर्खाली स्थापित छन् । भरपर्दाे सुरक्षाका लागि दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाई र सिंगापुरले दशकौँदेखि गोर्खालीको प्रयोग गर्दै आएका छन् । ब्रुनाईमा ब्रिटिस गोर्खा रेजिमेन्ट अन्तर्गत एक हजारको संख्यामा रहेका ब्रिटिस–गोर्खा सैनिकले सुल्तान र महत्वपूर्ण स्थानलाई सुरक्षा दिन्छन् । गोर्खा रिजर्भ युनिट नामक दुई हजार संख्यामा रहेको अर्काे फोर्सले प्रहरीको काम गर्छ । सिंगापुरमा चाहिँ गोर्खा कन्टिनजेन्ट नामक सुरक्षा बलले उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, जेल र सरकारी कार्यालयमा पनि सुरक्षा दिँदै आएको छ । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि गोर्खालीहरुलाई प्राथमिकता दिन थालिएको छ ।

नेपाल छ र न नेपालीको वीरताको इतिहास विश्वमा चिनिएको छ । यो गौरव गाथालाई सुरक्षित राख्नका लागि पहिलो कर्तव्य हुन आउँछ आफ्नो देशको सुरक्षा । विश्वका कुना काप्चामा रहेका सबै नेपालीहरु मातृभूमिको रक्षाका लागि एक जुट हुनु पर्ने बेला आइसकेको छ । भारतीय सेनामा रहेका नेपालीहरुले त निर्णयक घडीमा उचित कदम चाल्ने नै छन् । त्यसैले सरकारले खुट्टा कमाउनु हुन्न ।

प्रमाण हाम्रो पक्षमा छ
नेपालले ६५ वर्ष अघि संयुक्त राष्ट्रसंघमा सदस्यता लिन बुझाएको दस्ताबेजमै नेपालको पश्चिमी सीमाना काली (महाकाली) नदी रहेको प्रस्ट उल्लेख छ । राष्ट्रसंघमा सदस्यता लिँदा नेपालले पश्चिममा काली नदी र पूर्वमा मेची नदीलगायत अन्य भूभागसहितको स्पष्ट आँकडा दिएको छ ।
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो । नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको थियो । राणाकालीन अवस्थामै पठाइएको उक्त पत्रमा तत्कालीन डाइरेक्टर जनरल (परराष्ट्रमन्त्रीको हैसियत) को रूपमा विजयशमशेर राणाले तत्कालीन मेजर पदमबहादुर खत्रीलाई प्रतिनिधिका रूपमा पठाएका थिए । मोहनशमशेर प्रधानमन्त्री रहँदैमा उक्त प्रक्रिया अघि बढेको थियो । नेपालले सदस्यता प्राप्त गर्दा राजा त्रिभुवनकै प्रत्यक्ष शासन थियो।

त्यतिबेला बुझाएको उक्त डकुमेन्ट राष्ट्रसंघ सुरक्षा परिषदमार्फत उपलब्ध छ । काली नदीलाई पश्चिम सीमा र मेची नदीलाई पूर्वी सीमा भनिएको छ । नेपाल–भारतबीच सीमा विवाद जारी रहँदै यो मुद्दा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेमा यस्ता प्रमाण बलिया आधार हुनेछन् । नेपाल–भारतबीच सीमा विवाद जारी रहेमा इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसीजे) ले नदीको मुहानलाई केन्द्र मान्ने स्पष्टै देखिन्छ । अर्थात् काली नदीको मुहानलाई नेपालको आधिकारिक सीमाना कायम गरिनेछ ।

(लेखक भुजेल गोरखा ब्रिटिस सेनाबाट अवकास प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.