हाम्रा हिमाल, हाम्रो गौरव

रिपोर्ट नेपाल | 2021 Sep 27 | 08:07 am 2373

काठमाडौं, असाेज ११: कोरोना संक्रमणसँगै सन् २०२० को ‘भिजिट नेपाल’ कार्यक्रम सुरुवात नै नगरी सरकारले स्थगन गर्याे । त्यसा बेला २० लाख पर्यटक भित्र्याउने उद्देश्य थियो। तर, कोरोना महामारीका कारण २०७६ चैत ११ गते देशव्यापी लकडाउन घोषणा भयो। तर, महामारीकैबीच पनि हाम्रा गौरव, हाम्रा हिमाल चुम्न विदेशीको यात्रा रोकिएको छैन।

पर्यटन विभागका अनुसार लकडाउनबीच सन् २०२० मा ४ सय ४७ जनाले सगरमाथा आरोहण गरे। बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले २०७७ असोजमा मनास्लु चढे। कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले २०७७ कात्तिकमा आमादब्लम हिमाल आरोहण गरे। सरकारले हालै पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। त्यसको केही दिनमै सगरमाथा आधारशिविरमा फेसन सो कार्यक्रमसमेत सम्पन्न भयो। नेपालको पर्यटनमा पर्वतारोहणको मुख्य योगदान छ।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेका थिए। नेपालका ८ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलो मानव पाइला राखिएको हिमाल हो यो। उक्त दिनलाई पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धन र विकासमा पर्वतारोहणबाट नेपाल चिनिएको दिनका रूपमा लिने गर्छन्।

पदयात्रासम्बन्धी संघ–संस्थाले यसलाई अन्नपूर्ण दिवसका रूपमा मनाउने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निर्वतमान अध्यक्ष हरि भुजेल बताउँछन्।

हर्जोगले १९५१ मा हिमाल आरोहणको अनुभवसहित ‘अन्नपूर्ण’ पुस्तक प्रकाशन गरे। १ करोड १० लाखभन्दा बढी प्रति बिक्री भयो। धेरै भाषामा छापिएको पुस्तक विश्वका थुप्रै देशका पाठकसम्म पुग्यो। जसले नेपालका हिमाली शृङ्खलाको सुन्दरतालाई विश्वमा चिनायो। त्यसपछि नै विश्वबाट धेरै पर्यटक हिमाल चढ्न आउन थालेको पर्यटन व्यवसायी बताउँछन्।

विश्वकै अग्लो सगरमाथा आरोहण गर्न सन् १९२२ मा पहिलो पटक ७ जना शेर्पाले प्रयास गरे। तर, सबै आरोहीले दुर्घटनामा ज्यान गुमाए। सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपालको पर्वतारोहणमा संसारको ध्यान तानिएको थियो।

राजनीतिक परिवर्तनपछि खुलेको नेपालको हिमशृङ्खलाप्रति १९५० को दशकभर नै साहसिक पर्यटनका लागि विदेशी नेपाल आउन थालेका हुन्। सन् १९५० यता नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल सफलतापूर्वक आरोहण भए। १९५४ मा मकालु, १९५५ कञ्चनजंघा, १९५६ ल्होत्से तथा मनास्लु र अन्तिममा १९६० मा धौलागिरिलगायतको सफल आरोहण भयो। त्यसयताको पर्वतारोहणको ७१ वर्षको इतिहासमा १५ हजार बढीले ८८४८ मिटरदेखि ५ हजार मिटरसम्मको अग्लो हिमशृङ्खाला आरोहण गरिसकेका छन्।

नेपालको पर्यटन मुख्यतः साहसिक पर्यटनमा केन्द्रित छ। कुल पर्यटकमध्ये १२.४ प्रतिशत साहसिक पर्यटनमा आउने गरेको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन्।

सरकारले ४ सय १४ हिमशृङ्खला खुला गरेको छ। तीमध्ये ३२ हिमाल आरोहणका लागि अनुमति नेपाल पर्वतारोहण संघले गर्दै आएको छ।

अनुमति पाए पनि ७५ हिमशृङ्खलामा आरोहण भएको छैन। १७ वटा हिमचुचुरालाई अनुमति पाएकोबाट हटाइएको छ। नेपालमा करिब ८२ देशबाट हिमाल आरोहणका लागि आउने गरेको पर्यटन विभागको तथ्यांक छ। त्यसमा अमेरिका, यूके, चीन, फ्रान्स, भारत, जापानलगायत मुलुक छन्। हिमाल आरोहणमा नेपालीको सहभागिता पनि बढ्दो देखिन्छ। विकसित देशबाट नेपाल हिमाल आरोहणका लागि आउने क्रम बढ्दो गतिमा नै छ। यसले नेपाल र नेपालका हिमालको प्रचारलाई संसारमा नै बढाएको छ।

यही कारण नेपाल भन्नेबित्तिकै हिमाल र प्राकृतिक सौन्दर्यका रूपमा लिइने गरिन्छ। यही कारण पर्यटक आएर खर्च गर्ने, घुम्ने गन्तव्यका रूपमा समग्र पर्यटन क्षेत्रको विकास हुन पुगेको छ। विदेशी मुद्रा आर्जनका स्रोत मध्येको एक पर्यटन बन्दै गइरहेको छ।

२०१९ को तुलनामा सगरमाथालगायत अन्य हिमाल आरोहणमा पर्यटकको उत्साहजनक आवागमन भएको पर्यटनविज्ञ दीपकराज जोशी बताउँछन्। पर्यटन विभाग पनि कोभिडले अन्य क्षेत्रजस्तो पर्वतिय पर्यटनलाई असर नगरेको बताउँछ। पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्य कोभिड बेला पनि अरू सेक्टरभन्दा पर्वतारोहण चलायमान नै रहेको बताउँछिन्। ‘कोभिडको बेला पनि क्राइसिस फिल गर्नु परेको छैन्’, उनी भन्छिन्।

पर्वतारोहण गर्नु भनेकै समस्याको अर्को नाम 
पर्वतारोहण पर्यटन अध्येता तथा नेपाल सरकारका उपसचिव खिमलाल गौतम नेपालमा पर्वतारोहणको भविष्य निकै उज्ज्वल रहेको बताउँछन्। पछिल्लो समय यो क्षेत्रमा नियमन हुँदै व्यवस्थित भइरहेको उनको भनाइ छ। आरोहणको अर्को नाम समस्या भएको उल्लेख गर्दै गौतम भन्छन्, ‘अक्सिजन, स्वाथ्यसँगै खानपान लगायतका समस्यै समस्याको बीचमा साहस जुटाएर गर्ने काम नै पर्वतारोहण हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.