भद्रपुर, माघ ८: डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।
विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए।
उनका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतङ्कित तुल्याउने गरेको बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बताए।
बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेतीले गाउँको बीचमा रहेको जङ्गलमा हात्तीको बासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको बताए। उनले जिल्ला वन कार्यालयबाट साइरन गाडीसहितको सात सदस्यीय वन रक्षक टोली आएपछि स्थानीयवासीले राहत र सुरक्षित अनुभूति गर्न पाएको बताए।
स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङसमेत गर्दै आएको छ ।
वन रक्षक टोलीलाई इलाका प्रहरी कार्यालय बुधबारेको टोली र स्थानीय युवाले हात्ती धपाउन मद्दत गर्दै आएका छन् । सो क्षेत्रमा एक महीनामा तीन दर्जनभन्दा बढी घर हात्तीले भत्काइसकेको छ भने स्थानीयवासी रातभर ढुक्कले निदाउन सकेका छैनन् ।