हात्तीको आक्रमणबाट एकको मृत्यु

| 2021 Apr 03 | 08:42 am 2629

कैलाली, चैत २१ः शुक्रबार जिल्लाको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौरा चौधरी रहेका छन् ।

उनको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ। प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए।

चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ।

लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन्। ‘जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनी भन्छन्, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ। जसले मानिस नै जोखिममा पर्न थालेका छन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.