हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउदै

| 2023 Mar 27 | 07:46 am 449

काठमाडौं, चैत १३ः १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् । आजको रोबटिक समयमा पनि १५ भाषामा हस्तलिखित भित्रेपात्रो तयार गर्ने सम्भवतः उनी एक्ला व्यक्ति हुनुपर्छ । लोक्ताको नेपाली कागजमा तयार गर्ने हस्तलिखित क्यालेन्डर विदेशीले अनौठो मानेर खरिद गर्ने गरेको उनको अनुभव छ । प्रविधिको कारण भित्रेपात्रोको महत्व घटेको महसुस गरिरहेको समयमा उनी नेपाली कलालाई विदेशीको घरमा झुन्ड्याउने बनाउन सफल भएकोमा गर्व गर्छन् ।

पाटनका ६८ वर्षीय अमात्य ४३ वर्षदेखि हस्तकलाको गिफ्ट सोभिनिय पसल सञ्चालन गर्दै आएका छन् । कुपण्डोलको हिमालयन होटलको पारिपट्टी उनको क्राफ्ट सोभिनियर नामक हस्तकलाको पसलभित्र छिरेपछि सबैलाई मोहित बनाउछ । हस्तलिखित ग्रिटिङ कार्ड पनि उनी आफैं बनाउछन् । दुई छोरी र एक छोरा जर्मनमा रहेकाले सरल स्वभावका धिरजनाथ सधैं त्यही पसलमा सिर्जना गरेर बसिरहेका भेटिन्छन् । भन्छन्, ‘नेपाली हस्तकलालाई विश्वमाझ चिनाउन मैले धेरै भाषामा हस्तलिखित भित्रेपात्रो तयार गरेको छु । त्यसमा नेपाली पनि हुने भएकाले हाम्रो लिपि’bout समेत उनीहरूलाई ज्ञान हुने गरेको पाएको छु,’ उनले भने ।

नेपालमा पाइने चरा र यहाको संस्कृतिलाई महत्व दिएर उनले हस्तलिखित क्यालेन्डर तयार गरेका हुन्छन् । उनी आफंै परिदृश्य र चराको चित्र क्यालेन्डरमा कोर्छन् । उनले कतिपय भाषाका आधारभत कुरा आफैं अध्ययन गर्ने गर्छन् भने जापनिज र जर्मनी भाषाको प्रशिक्षण पनि लिएका छन् ।

‘विदेशी गिफ्ट किन्न आउदा नेपालको युनिक कुरा के छ भनेर सोध्ने भए । उनीहरूकै भाषामा नेपाली कागजमा हस्तलिखित क्यालेन्डर देखेपछि त उनीहरू दंग पर्ने भइहाले,’ उनी भन्छन् । उनले क्यालेन्डर बनाउन राजदतावासको समेत सहयोग लिने गरेको थिए । अंग्रेजी, जर्मनी, जापनिज, फ्रेन्च, इटाली, स्विडिस, नर्वेजियन, डेनिस, स्पेनिस, पोर्चुगित, डचलगायतका भाषामा उनले हस्तलिखित क्यालेन्डर तयार गर्ने गरेको सुनाए । यसमध्ये पनि जर्मनी र जापानी क्यालेन्डरको बढी मार्केट भएको बताउछन् ।

काठमाडौं उपत्यकाको कला, संस्कृतिलाई नेपालको सरकारले संरक्षण गर्नेदेखि प्रचारप्रसार गर्ने विषयमा प्राथमिकता नराखेको हो कि भन्ने उनको चिन्ता छ । उनी नवीन ठलो वर्णमालाका लेखक पनि हुन् ।

नेपाली लोक्ता कागजमा छापिएका उनका पुस्तक अनौठो लाग्छन् । नेपालमा उनको पुस्तकको चर्चा नभए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उनका आधा दर्जन किताब मन पराएको उनी सुनाउछन् । उनको सपना नामक पुस्तकले दक्षिण कोरियामा राम्रै चर्चा कमाएको सुनाउछन् । ‘वो हावट्स सर्जपाइज’ नामक उनको नेपाली जीवनशैली झल्कने पुस्तक सुसान डस्ट्रनले अंग्रेजीमा अनुवाद गरेका छन् । मित्रवनको गुफा त २५ भाषामा अनुवाद हुदै छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मित्रवनको गुफा नामक बाल उपन्यासको प्रशंसा गरेका थिए । ‘धिरजनाथ अमात्य बालकको मनको भाषा बुझेर रचना गर्छन् र रमाइलो रमाइलोमै रसिला शिक्षा दिन्छन् ।’ स्वर्गीय घिमिरेले मित्रवनको विषयमा लेखेका थिए । पशुपक्षीका विषयमा रचना गर्ने, चित्र कोर्ने उनको सानैदेखिको रुचि अझै कायम छ । नेपालको कला संस्कृति संरक्षण नहुने पो हो कि भन्नेमा चिन्तित देखिन्छन् । नया पुस्तालाई आफले जानेको सीप हस्तान्तरण गर्न आफ आतुर रहेको सुनाउछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.