हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण

रिपोर्ट नेपाल | 2021 Oct 31 | 07:36 am 2157

काठमाडौँ, कात्तिक १४ः विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको जानकारीसमेत दिए। उले भने, ‘‘हामी जतिसक्दो छिटो वसन्तपुर दरबार क्षेत्रलाई टेकोमुक्त र सम्पदा ठडिएको बनाउन चाहन्छौँ, जुन छिट्टै सार्थक हुँदै छ ।’’ उनले अगाडि भने, ‘‘हनुमानढोका दरबार क्षेत्रका सम्पदामध्ये क्षतिग्रस्त २१ वटाको काम अहिलेसम्म सुरु नै भएका छैनन् भने १८ वटाको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छैन ।’’ उनका अनुसार हनुमानढोका दरबार क्षेत्रमा प्रमुख ६९ र त्यसका चोक, आँगन र बहाल २२ वटा गरी कुल ९१ वटा सम्पदा रहेका छन् ।

एक–अर्कासँग अन्तरसम्बन्धित (इन्टररिलेटेड) भएका कारणले अहिले बनिरहेका सम्पदाको काम नसकी अरू सम्पदाको काम गर्न नमिल्ने भएकाले २१ सम्पदाको काम अझै सुरु हुन नसकेको उनले स्पष्ट पारे । खनालले भने, ‘‘जसरी माजुदेगः अगाडि कामदेवको मन्दिर छ, माजुदेगःको पुनर्निर्माण सम्पन्न नगरी कामदेव मन्दिरको काम सुरु गर्न मिल्दैन । एक–अर्कासँग अन्तरसम्बन्धित यस्ता धेरै सम्पदा छन् ।’’
अबको तीन वर्षभित्र दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित काम द्रुत गतिमा भइरहेको बताउँदै उनले भने, ‘‘ठूला सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ वा सम्पन्न हुने क्रममा छन् । बाँकी रहेका सम्पदा साना र सहायक छन्, जुन पुनर्निर्माण गर्न धेरै समय लाग्दैन ।’’

आवश्यक काठ अभावमा पनि अपेक्षित रूपमा पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको बताउँदै उनले स्पष्ट पारे, ‘‘सम्पदा पुनर्निर्माणमा नेपाली सालको काठमात्र प्रयोग गरिएको छ । यहाँ पुनर्निर्माणको क्रममा प्रायः १३ फिटभन्दा लामो सालको काठ आवश्यक पर्छ, जुन हतपति उपलब्ध हुँदैन । बजारमा प्रायः १०÷१२ फिटसम्म लम्बाइ भएका सालका काठ सजिलै पाइन्छ ।’’ अहिले हनुमानढोका विकास समितिबाट गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरासखाना (भण्डारगृह), पृथ्वीनारायण शाहको शयनकक्ष, जैशीदेवल र दस अवतार मन्दिर निर्माण भइरहेको उनले जानकारी दिए । त्यसैगरी, जापानी सहयोग नियोग २९ सम्पदाको (जाइका)को अनुदान सहयोगमा आगम्छे घर पुनर्निर्माण भइरहेको छ भने जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ ।

चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । उनले भने, ‘‘नौतले दरबारको पुनर्निर्माण गर्नुपर्ने भवनको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको ‘फिनिसिङ’को काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन ।’’ युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । युनेस्कोले अहिलेसम्म काठमाडौँ उपत्यकाको तीनवटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तूप र दुई हिन्दु मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी, उपत्यकाबाहिर लुम्बिनी, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.