हनी ट्रयापको आरोपमा दुई महिला एक पुरूष पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 11 | 03:40 pm 2037

दाङ, मङसिर २५ः दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गढवा गाउँपालिका –६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका –६ दशरथ टोल निवासी ३५ वर्षीय अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका –१८ ग्वारखोला निवासी ३८ वर्षीय कृष्णाकुमारी बस्नेत, घोराही उपमहानगरपालिका –१० नारायणपुर निवासी २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेका छन् ।

विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी तुलसीपुर निवासी एक व्यवसायीसँग ब्ल्याकमेलिङ गरेर रकम माग्ने उनीलाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्तिगत सम्बन्धको दुरुपयोग गरी आफूसहित साथीहरूको सहयोगबाट बार्गेनिङ गरी विगत केही समयदेखि आर्थिक लाभ लिँदै आएकोमा पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।

‘व्यक्तिगत रिलेसनको दुरुपयोग गरी पटक–पटक डर धम्की देखाएर पैसा माग्ने र नदिएमा बलात्कार मुद्दा हाल्ने भनेर धम्काउँदा रहिछन्’ प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘पीडित व्यक्तिले प्रहरीमा खबर गरेपछि आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्यलाई अघि बढाएका छौँ ।’ प्रहरीले उनीहरूलाई मङ्सिर १६ गते बेलुका ५ बजेको समयमा घोराही उपमहानगरपालिका– १६ सर्रास्थित कविला रिपोर्टमा पैसा माग गरिरहेको समयमा पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका आरोपीमाथि प्रहरीले एक्सटर्शन कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौतमले जानकारी दिए। उनीहरूले तुलसीपुर निवासी एक व्यवसायीसँग ५ करोड रुपियाँको बार्गेनिङ गर्ने र पैसा नदिए बलात्कार मुद्दा हाल्ने भन्दै धम्क्याउँदै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.