कास्की, फागुन १९ः पोखरा महानगरपालिका-२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका-१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
धनुषा, सबैला नगरपालिका-९ कुसमाहाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३० वर्षीय लालबाबु कापरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहावसस्थित सडकबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित स्याङ्जा हरिनास गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ५०७० नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटर चालक ती किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।