हत्यारा सार्वजनिक गर्न माग गर्दै मृतकका आफन्तद्वारा धनगढी बन्द

| 2018 Nov 20 | 03:03 pm 1873

धनगढी, मंसिर ४ : धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा बन्द गरिएको छ । कारबाहीको माग गर्दै स्थानीय र मृतकका आफन्तले गरेको बन्दले प्रदेश अस्थायी राजधानी धनगढी बजार ठप्प भएको छ ।

बजार पूर्ण रुपमा बन्द छ भने यहाँ उद्योग, व्यवसायमा पनि बन्दको प्रभाव देखिन्छ । हत्यामा संलग्न सार्वजनिक गर्न माग गर्दै आफन्तजन र स्थानीयले चार दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रहरीले दोषीलाई उम्काउन खोजेको उनीहरुको आरोप छ ।

गत शुक्रबार घटना भए पनि आफन्तले अस्पतालबाट शव बुझेका छैनन् । प्रहरीले दोषी सार्वजनिक नगरेसम्म शव नउठाउने अडान आफन्तको छ । मृतककी आमा सीतादेवी थापाले हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने बताइन् । पोष्टमार्टमपछि शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रहरीले हत्यारालाई संरक्षण गर्न खोजेकोले आन्दोलनमा जानु परेको उनले बताइन् । हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै आफन्त र स्थानीयले यसअघि दुई दिन प्रशासनमा धर्ना दिएका थिए । शान्तिपूर्ण रुपमा दवाव दिँदा पनि दोषी सार्वजनिक गर्न र घटनाको गम्भीरतापूर्वक अनुसन्धानमा प्रहरी, प्रशासनले सुनुवाइ नगरेपछि न्यायका लागि बन्द गर्नु परेको स्थानीय प्रेम धामीले बताए ।

गत शुक्रबार राति ९ बजेतिर धनगढी उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि कलश होटेल रहेको घरमा विजयको हत्या भएको थियो । टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा रहेका विजयलाई स्थानीय आशिष सेठीले घिसारेर सडकमा ल्याउन लागेको देखेपछि घरभित्र रहेका दिपेन्द्र चौधरीले प्रहरीलाई खबर गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.