उदयपुर, कात्तिक २९ : जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा गत शनिबार बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको बलात्कार पछि हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज बिहिबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिवर्तन) र अर्का १७ वर्षीय बिपललाई चार दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रहरीले जानकारी गराए।
गत शनिबार खड्का एक्लै घरनजीकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए । बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले जानकारी दिए ।
अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल धरान पठाएको प्रहरीले बताए । अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताए ।
अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजायबमोजिम कारबाही अगाडि बढाउने प्रहरीले बताएको छ ।