हजुरबालाई लगाउनुपर्ने इन्जेक्सन नातिलाई लगाइदिएपछि…

| 2018 Aug 16 | 07:18 am 4146

अस्पतालको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको समाचार पछिल्ला दिनमा बारम्बार सुनिन थालिएको छ । यसैक्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गत मंगलबार लापरवाहीका कारण एक डेढ वर्षीय बालकको ज्यान गएको छ ।

सुनसरीको बर्जु गाउँपालिका– २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका बालकलाई नोबलका चिकित्सकले गलत इन्जेक्सन लगाइदिँदा ज्यान गएको पीडित परिवारको आरोप छ ।

मृतक बालकका बाबु जितेन्द्र रायले जनाएअनुसार मंगलवार साँझ बारुलाले टोकेपछि बालकलाई कोशी अस्पताल पुर्याइएको थियो । बारुलाले टेकेको बिष निकाल्ने प्रबिधि नभएपछि कोशी अञ्चल अस्पतालले रेफर गरेपछि नोबल लगिएको थियो । त्यहीँ जितेन्द्रका वृद्ध बाबुको उपचार चलेको थियो । ७५ वर्षका रामदेव राय र डेढ बर्षका नाती रिशव रायको मंगलबार साँझ नोबेल अस्पतालमा उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले वृद्ध र बालक दुबैलाई एउटै खालको औषधि लगाउँदा छोराको मृत्यु भएको आरोप जितेन्द्रको छ ।

बालकको मृत्यु भएपछि अन्यत्रैका लागि सो अस्पतालले रेफर गरेकोसमेत उनको दाबी छ । रेफर नोट भनेर लेखिदिएको तर त्यो बेलासम्म बच्चाको मृत्यु भइसकेको भन्दै उनले शवको पोस्टमार्टम गरिदेउ भन्दा अटेर गरी प्रक्रिया अगाडी समेत नबढाइएको गुनासो गरे ।

मृतकमा आफन्तहरुले शवको पोस्टमार्टमका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, प्रशासन र प्रहरीले कुनै पहल गरेन । पीडित परिवारका अनुसार सामाजिक विकास मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पोस्टमार्टमको बिषयमा जानकारी लिँदा अस्पतालभित्रको बिषयमा पोस्टमार्टम नहुने नोबलले प्रतिक्रिया दिएको थियो । हस्पिटलमा मरेका मान्छेहरुको पोस्टमार्टम हुनै नसक्ने अस्पतालसम्बद्ध कतिपयले दाबी गरेको पनि बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.