हजयात्रीलाई कम शुल्कमा धेरै सुविधा दिन गृहमन्त्रीको निर्देशन

| 2019 Feb 05 | 01:28 pm 1957

काठमाडौँ, माघ २२ : गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्री बढाउने विषयमा गम्भिर छलफल भइरहेको बताएका छन् । सरकारले यात्रीको सङ्ख्या दोब्बर पार्ने प्रयास जारी राखेको पनि मन्त्री थापाले बताएका छन् ।

विगतमा एक हजार २ सय यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताएका छन् ।

नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्दै गृहमन्त्री थापाले हज यात्रामा जान चाहानेहरुलाई सहज ढंगले पठाएर विगतको भन्दा दोब्बर पार्ने योजना सरकारको रहेको बताएका थिए ।

यसका लागि साउदी अरेबियाका राजदूतसँग पनि छलफल भइरहेको र राजदूतबाट सकारात्मक उत्तर र प्रतिबद्धतासमेत आएको गृहमन्त्री थापाको भनाई रहेको थियो।

गृहमन्त्री थापाले हजयात्रालाई व्यवस्थित र मर्यादित बनाउन विशेष योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रहसमेत गरेका थिए । गृहमन्त्री थापाले नयाँ कमिटिलाई विशेष निर्देशन दिँदै सरकारले हज यात्रीलाई सहयोग गर्न कुनै कसर राख्दैन तर जिम्मेवार व्यक्तिले यात्रामा कम खर्चमा बढी सुविधा दिएर विवाद रहित हुन समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.