काठमाडौं, पुस १४ : तत्कालीन राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो ।
त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म रहस्यमै रहेको छ । २०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए।
उनले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सीमित राखेका थिए। उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।
विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए।