गुल्मी, जेठ २८ः नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले मुसिकोट नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सवेंदनशीलतामा ध्यान नदिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।
देशभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले गरेका काम कारबाही र त्यसमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेसले मुसिकाेट नगरपालिकाले स्वास्थ्य जस्तो सवेंदनशील क्षेत्रमा प्राथमिकता नदिएकाे भन्दै उक्त कुरामा ध्यान दिन भन्दै सचेत गराएकाे छ यदि नसच्चिए आन्दोलनमै उत्रिने चेतावनी दिएको हो ।
नगरपालिकाले भारतबाट आएकाहरुलाई राख्ने क्वारेन्टाईन व्यवस्थापन गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा पार्टी सभापति सुदर्शन शाक्यले न्यूनतम स्वास्थ्य सामाग्री पनि उपलब्ध नहुनु, राहत वितरणमा एकरुपता नहुनु र उनीहरुको स्वास्थ्य चेकजाँचको विषयमा पनि नगरपालिका गम्भीर नबनेको बताए ।
आईतबार मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइन तथा भारत लगाएत विभिन्न क्षेत्रबाट आइ क्वारेन्टाइनमा बसेका नागरिकहरुको अवस्थाको अवलोकनको क्रममा नगरपालिकाको वडा नम्बर १ थाम स्थित सरस्वति मा वि को क्वारेन्टाइनमा बसेका नागरिकमाथि गरिएको व्यवहाार र दिएको अभिव्यक्ति अशोभनिय, अलोकतान्त्रिक र गैर जिम्मेवारपूर्ण भएको प्रति नेपाली काँग्रसले घोर भ्रत्सना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
उक्त पत्रकार सम्मेलनलाई सम्बाेधान गर्दै नेपाली काँग्रेस मुसिकोट नगरसमिति सविच मोहन घिमिरेले कोरोनाले आम नागरिक आजित भइरहेको बेला स्थानीय सरकारले गरेको अमानवीय व्यबहारलाई काँग्रेसले नागरिकमाथि ठूलो धोका भएको बताए ।
नगरप्रमुख सोमनाथ सापकोटाले स्थानिय माथि गरेको अमानविय व्यवहारप्रति सार्वजकि रुपमा नै माफी माग्नुपर्ने नत्र आम नागरिक सडकमा उत्रने र बाध्य भएर माफी माग्नुपर्ने अवस्थाको सिर्जना हुने काँगे्रसले ठहर गरेको नेपाली काँग्रेस पूर्व जिल्ला कार्यसमिति सचिव हरिनारायण सापकोटाले बताए । पत्रकार सम्मेलन मार्फत काँग्रेसले मुसिकोट नगरपालिकाका मेयर तनाशाही प्रवृत्तिमा अगाडी बढन खोजेको, संविधानले रक्षा गरेको अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज गर्न खोजेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख झविलाल भण्डारीले आग्रह पूर्वाग्रह भन्दा माथि उठेर जनताको हीतमा काम गर्न नसकेको भन्दै खेद प्रकट गरेका थिए । नगरपालिकामा निर्माण गरिएका ९ वटै वडाका क्वारेन्टाईनहरुको अनुमगन गरेको काँग्रेसले क्वारेन्टाईनको हरिबिजोग हुँदा सम्म ध्यान नदिनु, भारतबाट आउने नागरिकहरुको उद्धारमा ध्यान नदिनुले स्थानीय सरकार असफल छ भन्ने प्रमाणित गरेको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटाले बताए ।
नगरपालिकाले क्वारेन्टाईनमा बसेकाहरुलाई विश्वमै असफल सावित भएको आरडिटी परिक्षण गर्दै घर पठाउँदै गर्नुले झनै सक्रंमणको खतरा बढेको काँग्रेसको ठहर छ ।
अब आरडिटी परिक्षण तत्कालै रोकेर पीसीआर परिक्षणको व्यवस्था मिलाउन र त्यसका लागि काँग्रेस सहयोग गर्न तयार रहेको जनाएकाे छ ।