स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार

रिपोर्ट नेपाल | 2023 Mar 26 | 07:39 am 601

म्याग्दी, चैत १२ः म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।

‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौँ’, उनले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो ।’

तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई सङ्घीय सरकारले यातायात खर्चवापत दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप आठ सय उपलब्ध गराउने गरेको छ । अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो ।

पाँच वडा रहेको मङ्गलामा वार्षिक ७०–८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन् । कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ ।  नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

चालु आर्थिक वर्ष २०७९-८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन भएको छ । कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताए। गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहरा र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको उपाध्यक्ष अधिकारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.