‘स्वास्थ्य बीमा गरे पनि सेवा पाइएन’

| 2018 Jun 10 | 08:58 am 4171

सोलुखुम्बु, जेठ २७ : सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन् ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि सेवा नपाएको बताए। उनले भने, “स्वास्थ्य बीमाको म आफँैले शुभारम्भ गरे, एक दिन बिरामी भएर अस्पताल जाँदा औषधि नै पाइनँ”, शेर्पाले भने, “यस्तो हुँदा साह्रै दुःख लाग्यो ।”

सोलुदूधकुण्ड नगरपालिका–७ निवासी गोम्बु शेर्पाले पनि स्वास्थ्य बीमा गराए पनि अस्पतालमा औषधि नपाएको बताए । शेर्पाले भने, “बिरामी हुँदा रु ५० हजार बराबरको उपचार सेवा पाइन्छ भन्थे तर एक रुपैयाँके पनि पाइन ।” अस्पतालमा निःशुल्क पाइने औषधि नपाएको भन्दै उहाँले सम्बन्धित निकायलाई सुधारका लागि अनुरोध गर्नुभयो ।

यता स्वास्थ्य बीमा बोर्ड काठमाडौँमार्फत सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले आफूहरुले औषधि खरीदका लागि अस्पताललाई भुक्तानी दिएको भए पनि खरीदमा ढिलाइ हुँदा समस्या भएको बताए । चार महिनाअगाडि नै औषधि खरीदका लागि पेश्कीबापत भुक्तानी दिएको भए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद नगरेको उनको भनाइ छ ।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले स्वास्थ्य बीमाको औषधि केही दिन भित्रैमा जिल्ला आइसक्ने बताए । डाक्टर शेर्पाले चार-पाँच दिन भित्रैमा जिल्लामा स्वास्थ्य बीमा बापतको करीब ९०० प्रकारका औषधि उपलब्ध हुने जानकारी दिए ।

बीमा बापतको औषधि खरीदका लागि रु पाँच लाख ऋण लिएर औषधि खरीद प्रक्रिया अगाडि बढाएको भए पनि केन्द्रीय कार्यालयको प्रमुख परिवर्तन भएकाले औषधि खरीदमा ढिलाइ भएको उहाँले स्वीकार गरे । अहिलेसम्म जिल्लामा करीब तीन हजार २०० जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ साल असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.