स्वास्थ्यमा बजेट घट्यो

| 2022 Jun 29 | 08:05 am 1509

काठमाडाैं, असार १५ः सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि विनियोजित उक्त बजेट संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड छुट्याएको छ । स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालू आर्थिक वर्षको भन्दा कम हो ।

चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट संघमा मात्र १ खर्ब १ अर्ब रहेको थियो । चालु आर्थिक वर्षमा स्थानीय तहमा २६ अर्ब बजेट छुट्याईएको थियो । संघ, प्रदेश र स्थानीय तहमा गरेर चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै एक खर्ब ३५ अर्बको बजेट रहेको थियो ।

बजेटमा आधारभूत स्वास्थ्य संस्थाको निर्माण तथा सञ्चालन, स्वास्थ्य बिमालगायतका सामाजिक स्वास्थ्य सुरक्षा, औषधि, नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य रेकर्ड, २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई पोषण भत्तालगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

नेपालको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि माग हुँदै आएको भए पनि नेपाल सरकारले गतवर्ष केही सुधार ल्याएकोमा यस वर्ष पुनः घटाएको छ । बजेटमा मिर्गाैलाको निःशुल्क प्रत्यारोपणलगायत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरिएको छ । मेरुदण्डका बिरामीका लागि १ अर्ब ५० करोड छुट्याएको छ । ६५५ स्थानीय तहमा अस्पताल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.