इलाम, पुस ३० : डा गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै लड्ने अभियन्ता। सहमित फेरि धोका गर्दा १५ औं अनसनमा पुगे। यसपटकको उनको यो १६ औं अनसन हो। आज सत्याग्रहको छैटौं दिन (सोमबार) वरिष्ठ चिकित्सक डा केसीलाई अस्पताल सारिएको छ।
मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा केसीलाई बिहान ९ बजे सत्याग्रहस्थल फूलगाछीबाट करिब १ किलोमिटरमा रहेको इलाम अस्पताल ल्याइएको हो।
डा केसीलाई अहिले नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ। चिकित्सकका अनुसार अस्पतालमा गरिएको जाँचमा डा.केसीको रक्तचाप ९०/६० मिलिमिटर मर्करी, मुटुको गति १०० र शरीरमा अक्सिजनको मात्रा ८९ प्रतिशत छ। सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुन्छ। डा.केसीको स्वास्थ्य जाँच गरेका इलाम अस्पतालका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको शरीरको तापक्रम चाहिँ सामान्य रहेको बताए।
‘डा.केसीमा देखिएको समस्यालाई मेडिकलको भाषामा टन्सिलर फेनेन्जाइटिस विथ राइट बेजल निमोनिया इन सेप्सिस विथ डिहाइड्रेसन विथ डिसइलेक्ट्रोलाइटिमिया विथ इक्टोपिक्ट बिट्स भनिन्छ,’ चिकित्सक डा.साहले भने, ‘उहाँमा निमोनिया भइसकेको, पानीको मात्रा कम भएकोलगायत धेरै समस्या एकैपटक देखिएका छन्।’
डा.केसीको घाँटी, छातीलगायत सबै जाँच गरेर एन्टिबायोटिक, मुटुको चाल नियमित गर्ने औषधि चलाउन सल्लाह दिँदा डा.केसीले नमानेको साहले बताए। ‘अक्सिजन र नर्मल स्लाइन लगाउन मात्र सर (डा.केसी) मान्नुभयो।’
चिकित्सकका अनुसार डा.केसी छोटो अवधिमै निकै शिथिल भइसकेकाले भोलि–पर्सिसम्ममा उनलाई अझ समस्या निम्तिन सक्ने देखिएको छ।
‘भोलि–पर्सिसम्ममा डा.केसीलाई आइसियुमा राख्नुपर्ने अवस्था आउन सक्ने भएपनि यो अस्पतालमा आइसियु केयर छैन, एनेस्थिेसिया र क्रिटिकल केयर एक्स्पर्ट पनि छैन, उहाँको अवस्था सुधार्ने हाइग्रेड औषधि पनि यहाँ छैन,’ चिकित्सक साहले भने, ‘योभन्दा अवस्था बिग्रिनेबित्तिकै बेटर केयर सेन्टरमा लैजानुपर्ने अवस्था छ।’ डा.केसीको अवस्था अझ बिग्रिए उनलाई कि विराटनगर, कि धरान लैजानुनर्पे हुनसक्ने चिकित्सक साहले बताए।
अस्पतालको चिकित्सक टोलीले ६ दिनयता डा.केसीको चारपटक रगत जाँच गरिसकेको छ। सुरुभन्दा अहिले डा.केसीको स्वास्थ्य अवस्था निकै खस्किएको टोलीले जनाएको छ। आइतबार राति डा.केसीलाई मुटुको चालमा ज्यादै समस्या भएको र खोकी धेरै लागेको डा.साहले बताए। ‘डा.केसीलाई गएराति एक्टोकेट बिट्स (नियमित नभएर आफ्नै तालमा मुटु चल्ने)भएको थियो,’ साहले भने, ‘हामीले राति नै सिडिओ साबलाई समेत खबर गर्यौं।’ चिकित्सकले आइतबार नै डा.केसीलाई अस्पताल जान सुझाव दिएपनि उनले मानेका थिएनन्।
डा.केसीको दाहिने फोक्सोमा हावा कम भएको उनले बताए। जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो। तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा.केसीले २५ गते साँझ नै १६औं सत्याग्रह थालेका हुन्।
सरकार र जिम्मेवार निकाय नै चिकित्सा शिक्षा सुधारको मागमा गम्भीर भएका छैनन्। अनि स्लाइन र अक्सिजनको भरमा आएको चिकित्सा शिक्षा विधेयकले दिने परिणाम के होला ?