स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 18 | 03:40 pm 1621

पर्सा, माघ ४: वीरगन्जमा स्रोत नखुलको ठूलो रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीय विकास साह र वीरगन्ज १८ इनर्वा मनियारीका १९ वर्षीय सुभाष कुमार साह रहेका छन् ।

हुण्डीको कोरोबारी रहेको आरोपमा प्रहरीले वीरगन्ज ८ घण्टाघर चोकबाट २२ लाख ५० हजार रुपैयाँसहित उनीलाई पक्राउ गरेको हो ।

मङगलबार दिउँसो प्रहरीले घण्टघार चोकस्थित सडकमा बीआर ०५ ए इ ९३४३ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा त्यसमा विकाससँगै सवार रहेका सुभाषले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

झोलाबाट नेपाली पाँच सय र एक हजार दरको नोट गरी २२ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए । बरामद रकम,साहद्वयले स्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रहेको हुनसक्ने उनले बताए ।

बरामद रकमसहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतममा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको गिरिले जानकारी दिए। वीरगन्जमै एक साताअघि मात्रै प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित वीरगन्ज महानगरपालिका १७ का १९ वर्षीय राजन साहलाई पनि पक्राउ गरेको थियो ।

वीरगन्जमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै हण्डीको कारोबार गरेको भन्दै ७ जनालाई पक्राउ गरि उनीहरुको साथबाट ९५ लाख ९८ हजार रुपैयाँ बरामद गरिसकेको छ । यस्तै, गत आर्थिक वर्ष २०७८/०७९ मा वीरगन्जमा प्रहरीले २२ जनालाई पक्राउ गरी उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद गरेको थियो।

खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्तिका कारण हुन्डी कारोबार बढेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।  उनका अनुसार ,नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ।

यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम अवैध रुपमा पुनः नेपाललै फर्काउने गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.