नवलपरासी, भदाै २४ । नम्बर प्लेटनै नभएको मोटरसाइकलमा स्रोत नखुलेको २० लाख रुपैया बोकेर आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सरावल गाउँपालिका स्थित भुजहवाबाट पाल्हीनन्दन गाउँपालिका २ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडालाई पक्राउ गरिएको हो ।
उनीहरु सवार मोटरसाइकल माथि शंकालागेर प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको २० लाख नगद सहित पक्राउ गरिएको नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताएका छन् । भारतीय सिमा नजिकबाट पक्राउ परेका गुप्ताले उक्त रकम आफ्ना दाइले लिन पठाएको बताएका छन् । पक्राउ भएको १ किलोमिटर दुरीमा रहेको एक खाद्य सामाग्री पसलका व्यवसायीसँग कारोबारको रकम लिन दाइले पठाएकोले आफूले उक्त रकम लिएर आएको गुप्ताले प्रहरी समक्ष बयान दिएका छन् ।
सिमावर्ती बजारमा नेपाली रुपैयाबाट कारोबार हुने भएकोले पक्राउ परेका व्यक्तिले उक्त रकम भारतबाट ल्याएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । सिमा क्षेत्रमा हुण्डी कारोबार र लागुऔषध ओसारपसार हुने भएकोले कतै उक्त रकम सोही प्रयोजनका लागि ल्याइएको त होइन भन्ने प्रहरीले आशंका गरेको छ ।