काठमाडौं, साउन २६ः नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
साहको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिहरुबाट घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको गरेको छ भन्ने गोप्य सूचनाका आधारमा साहलाई पक्राउ गरेका हुन् ।
साह खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका थिए । पक्राउ परेका साहमाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।