स्यावास रेखा ! राज्यलाई चुनौती र कथित समाजसेवीलाई पाठ सिकायौ

रिपोर्ट नेपाल | 2019 Jul 07 | 05:17 pm 4363

  • महेन्द्र पाण्डेय

नेपाली राजनीति भनौ या समाजिक संघ संस्था जे कोहीमा सकृय मानिसहरुले समाजसेवाको पगरी गुथ्ने गरेका छन् । यथार्थमा भन्नु पर्दा पछिल्लो समय टाठाबाठाका लागि समाजसेवा मागी खाने भाँडो भएको छ ।

एनजिओ आइएनजिओको नाममा समाजसेवीको पगरी गुथेर घर परिवारको राम्रैसँग सेवा गर्ने महाशयको पनि प्रसस्तै भिड देखिन्छ । समाजसेवको खोल ओढेर मेवा खानेहरुको भिड पनि नभएको होइन । मन्डी ओढेर घिउ खानेको जमातमा वास्तविक समाजसेवीहरु छाँयामा पर्ने गरेका घटनाहरु पनि प्रसस्तै देख्न र सुन्न पाइन्छ ।

वास्तविक समाजसेवा गर्नका लागि कुनै एनजिओ र संघ संस्था आवश्यकता पर्दौ रहेनछ भन्ने उदाहरण एक युवतीले गोर्खामा व्यावहारमा देखाइदिएकी छन् । समाजसेवा रुप, वर्ण, जाति र उमेरले होइन अन्तरआत्माबाट गर्नु पर्छ भन्ने ज्वलन्त उदाहरण गोर्खाकी रेखा तामाङ लोप्चनले प्रमाणित गरेर देखाइदिएकी छन् ।

२०७४ सालमा वैदेशिक रोजगारमा गएको एक साथी मार्फत गोर्खाका एकै परिवारका चार जना अपाङ्ग अशक्त भएको, घरबास र खाने गाँस नभएको थाहा पाएकी रेखाले त्यो परिवारको खोजी गर्न थालिन् । साथी मार्फत थाहा पाएकी रेखालाई त्यो रात जीवनको सबै भन्दा लामो रात भएको अनुभव गरी उनले त्यो परिवारको खोजिनीति गर्दै उनीहरुको बसोबास भएको ठाउँमा पुग्दा रेखाको मुटु मात्रै चिरिएन कि आँखामा आँसु पनि बग्यो ।

९० वर्षीय दलबहादुर भुजेल लगायत तीनजना छोराछोरीको अवस्था देख्दा रेखाले मन थाम्नै सकिनन् । हिड्न नसक्ने लत्रिएर बल्ल बल्ल हिड्ने भुजेलको परिवारसँग कुरा गर्न खोज्दा उनीहरु सुरुमा बोल्न चाहेनन् । रेखाले अनुनय विनय गरेपछि बृद्ध दलबहादुरले आफू त घरले जा वनले आ भन्ने भएको बुढो भन्दै छोराछोरीको लागि टाउको ढाक्न छप्पड (घर) चाहिएको बताएपछि रेखाले बाचा गरेको २ वर्षमा भुजेल परिवारले एउटा अपाङ्ग मैत्री चार कोठे घर पाएको छ । रेखासँग घर माग्ने दलबहादुर र उनकी अपाङ्ग छोरी देवीमाया भुजेलले यो संसार छोडेर गइसकेका छन् ।

२०७४ पुस ४ गते बचनको जगबाट सुरु भएको भुजेल परिवारको सपना २०७६ असार २१ गते पूरा भएको छ । दलबहादुर भुजेललाई घर बनाइदिने आश्वासन दिएर निस्किएकी एक यौवनले भरीपूर्ण भएकी युवतीले आफ्नो जवानीलाई वेवास्ता गर्दै सपथ खाएर घर बनाउने अभियानमा लागिन ।

आफ्नो फेसबुकको भित्तामा भुजेल परिवारको वास्तविकता सहितको फोटो पोष्ट गेरर सहयोगका लागि उनले सार्वजनिक रुपमा आब्हान गरिन । वितेको यो दुई वर्षमा भुजेल परिवारको टाउको लुकाउने आवास बनाउने सपथ खाएर निस्किएकी रेखाले थुप्रै हण्डरसँग ठक्कर खान नपरेको पनि होइन । धेरै चुनौती, आरोप प्रत्यारोपसँग जुध्दै उनी विचलित नभई अनवरत लागेको कर्मले आज फलको स्वरुप प्रदान गरेको छ ।

समाजसेवा आदर्शले होइन भावनाले गर्नुपर्छ भन्ने पाठ रेखाले कथित समाजसेवीलाई सिकाइदिएकी छन् । रेखा कसैकी छोरी मात्रै नभएर बुहारी पनि हुन् । पारिवारीक रुपमा आफ्नो कर्तव्यलाई पनि उनले कमी हुन दिएकी छैनन् । अनेक आरोप प्रत्यारोपसँग जुध्दै अघि बढेकी रेखाले स्वर्गीय दलबहादुर भुजेलको सपना जिवित हुँदै पूरा गर्न नसके पनि अन्तत पूरा गरेरै छाडेकी छन् । रेखाको समाजसेवा प्रतिको भावलाई यो पंतिकार स्यालुट गर्न चाहान्छ ।

रेखाका यो अभियानमा आफूले सहयोग गर्न नसके पनि आफैंले फोन गरेर अन्तरवार्ता छापेको स्मरण गर्दा स्वयम् आफैंलाई पनि यो पंतिकारले भाग्यमानी सम्झेको छ । आर्थिक रुपमा नभए पनि रेखाको यो अभियानमा नैतिक रुपमा सहयोग गरेको महसुस पनि गरेको छु ।

आज रेखाले फुजेलको भूमिमा खाएको कसमले सार्थकता पाएको छ । हिजोका दिनसम्म बाख्राको खोरमा पकाएर खानुपर्ने भुजेलका दुई भाई टंक भुजेल र रामबहादुर भुजेलले अवदेखि अपाङ्ग मैत्री भवनमा खान र बस्न पाउने भएका छन् । रेखाकै सकृयतामा त्यो भवनमा फ्रिज, टिभी, विजुलीबत्ती जाँदा सोलरको समेत व्यवस्था मिलाइदिएकी छन् ।

घस्रेर हिड्नु पर्ने दाजु भाईलाई पकाएर खुवाउन पारिश्रमीक दिएर मान्छे राखिदिने विचार रेखाले राखेपछि काठमाडौंबाट घर हस्तान्तरण कार्यक्रममा पुगेका गुल्मी तमघास खानीगाउँका भुजेल समाजका पूर्वअध्यक्ष बसन्त भुजेलले मासिक पाँच हजारका दरले एक वर्षको रकम हस्तान्तरण गरेका छन् ।

रेखाले भुजेल दाजुभाईका नाममा अक्षयकोष समेत खडा गरिदिएकी छन् । घर बनाएर मात्र भएन बचाउनु पनि पर्यो भन्दै रेखाले सहयोगी दातालाई सहयोगको हात बढाइदिन आग्रह गरेकी छन् । रेखाको यो अभियानले राज्य संचालकलाई चुनौति दिएको छ भने कथित समाजसेवीलाई यथार्थरुपी कामले झापड दिएको छ ।

धेरै मान्छे नामका पछाडी दौडिएका हुन्छन् तर यि गोर्खाकी चेलीले काम गेर नाम राख्न सफल भएकी छन् । काम गरे पछि नाम स्वत आउने रहेछ भन्ने कुराको प्रमाण पनि रेखाले दिएकी छन् । उनीबाट धेरैले पाठ सिक्न जरुरी छ । अपाङ्ग भुजेल दाजुभाईकी बैशाखी बनेकी रेखाालाई पुःन यो पंतिकार स्यालुट गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.