स्याङ्जा, असार १९ः विभिन्न विपद्का कारण पछिल्लो दुई हप्तामा स्याङ्जामा ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मनसुन सुरु भएयता दैवी प्रकोपबाट विभिन्न घट्नामा परेर आधा दर्जन नागरिकले ज्यान गुमाए भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खोलाले बगाएर ४, भीरबाट लडेर १, चट्याङ लागेर १ गरी ६ जनाले दुई सातामा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । बाढी पहिरोका कारण १४ घरधुरीका ६८ जना विस्थापित भएका छन् भने ९७ घर पहिरोको जोखिममा हुँदा ५ सय ३३ जना नागरिक प्रभावित भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण यस बर्ष जिल्लामा मानवीय क्षति धेरै भएको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र अधिकारीका अनुसार आँधीखोला गाउँपालिका ६ का ६० वर्षीय घनश्याम शर्मा, पुतलीबजार नगरपालिका ४ का ५१ वर्षीय टेकबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको बताए ।
खोलाले बगाएका ४ जना मध्ये २ जनाको अझै सनाखत हुन सकेको छैन् । त्यसै गरी बाँदर धपाउने क्रममा पुतलीबजार नगरपालिका २ का ३५ वर्षीय तिलक कुँवरको भिरबाट लडेर मृत्यु भएको छ भने अर्जुनचौपारी गाउँपालिका २ का १५ वर्षीय रोहित कुँवरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गल्याङ नगरपालिका ४ का १८ वर्षीय सन्दीप न्यौपाने आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । न्यौपानेको खोजी कार्य जारी भए पनि अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । यसै गरी बाटो हिँड्दै गर्दा पहिरो आएर बगाउँदा हरिनास गाउँपालिकाका ४८ वर्षीय कृष्ण थापा घाइते भएका छन् । थापाको अवस्था सामान्य रहेको छ । नेपाल समाचारपत्रबाट