स्याङजा, असोज २३ : भुकम्प गएको तीन वर्ष नाघिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जाका भूकम्पपीडितले नपाएको गुनासो गरेका छन् । भुकम्पबाट घरबास गुमाएका पीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् ।
वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनालले भुकम्पबाट घर भत्किएर छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्दा पनि पहिलो किस्तासमेत नपाएको बताउछन् । खनालले वर्षायामको चुहिने पानी र जाडो याममा सित चुहिएर जाडोले कठ्याङ्ग्रीनु पर्ने बाध्यता भएको गुनासो गर्ने गरेका छन् । निर्वाचनका बेला लोकप्रिय नारा दिएर घर बनाइदिने आश्वासन दिएका नेताहरुको अहिले मुखसम्म देख्न नपाएकोमा दुखेसो पोखे ।
यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मीले पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको गुनासो गरेका छन् । रेग्मी जस्तै वालिङ नगरपालिकाका अन्य भुकम्प पीडित पनि किस्ता पाउन नसकेर गुनासो गरिरहेका छन् । भुकम्पले गर्दा खुल्ला आकाश मुनी जीवन विताउनु परेको बताउँदै वालिङ १२ का हुमनाथ पराजुलीले पनि राहत पाउन नसकेकोमा दुखेसो पोखेका छन् ।
स्याङ्जाका पीडितले रातो कार्ड पाए पनि रकम नपाउँदा चुहिने झुपडीमा बस्न बाध्य भएका छन् । भुकम्प गएको यो तीन वर्षमा पीडितलाई राहत दिन केन्द्रीय स्तरमा सिइओ नियुक्त हुने र बहिर्गमन हुने प्रतिष्पर्धा सरकारले चलाइरहे पनि वास्तविक पीडित भने पीडा लिएर बाँच्न बाध्य रहेका छन् ।
जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३ सय ३३ रहेको तथ्याङ्क छ । आठ हजार ७ सय ६६ को पूर्ण क्षति तथा ५ सय ६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रेकर्ड छ । पीडित मध्ये पाँच सय भन्दा बढीले विभिन्न कारणबस पहिलो किस्ता समेत पाएका छैनन् ।