भरतपुर, भदौ १८ : भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकालाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताएकी छन् । भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको राजमार्गको सरसफाइ अभियानको क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताएकी हुन् ।
राजमार्गको सरसफाइ गर्दै भनिन् ‘महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।’ मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्दै लैजाँदा सफा र हरियाली अनिवार्य भएको हुँदा यसलाई महानगरले प्रमुख प्राथमिकता दिएको बताइन् ।
प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रूपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु नै महानगर तीव्र रूपमा अगाडि बढाइरहेको बताइन् । उनले भनिन् , ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली चाहिने भएकाले महानगरले सफा र हरियालीलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ । ‘महानगरका ३ वटा वडाहरू सरसफाइयुक्त घोषणा भइसकेको छ, निकट भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु ।
नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुरलाई वातावरण मैत्री बनाउन वातावरणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो ।
नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान अन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको हो ।
महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे ग्रुप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी थिए । भरतपुर वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठले सहरलाई हरियाली बनाउनको लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताए ।