स्मार्ट लाइसेन्स पनि लेमिनेशन गरिने

| 2018 Oct 11 | 07:02 am 4119

काठमाडौं, असोज २४ : अब सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा लेमिनेशन गरिने भएको छ। यसमा भएको इम्बोस्ड प्रकृतिको अक्षर पनि हटाइने भएको हो।

अब ‘स्मार्ट लाइसेन्स’लाई प्लास्टिकको लेमिनेशन गरेर बाँड्ने तयारी सुरु भएको हो। स्मार्ट लाइसेन्सको ‘ब्याक लग’(प्रिन्ट हुन बाँकी)को समस्या समाधान गर्ने गरी मन्त्रिपरिषदले हालै मात्र मालिका इन्कर्पोरेट प्रालिलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जिम्मेवारी दिएको छ ।

मालिकाले यसअघि जस्तो ‘लेजर प्रिन्ट ‘ नगर्ने यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए । उनका अनुसार अब ६ लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट ‘ गरेरै वितरण गरिने छ । थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ ।

महानिर्देशक ढकाल भने यो प्रविधिको प्रिन्टेड अक्षर ५ वर्षसम्म नमेटिने दाबी गरे। अक्षरको सुरक्षाकै लागि बाहिरबाट लेमिनेशन पनि गरिने उनले प्रष्ट्याए ।

मालिकाले कार्ड प्रिन्टका लागि यातायात व्यवस्था विभागमा मेसिन ल्याएर सर्भरमा कनेक्सन थालेको छ । मालिकालाई सुरुको ३० हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्नेछ ।

अहिले ‘ब्याक लग’ लाइसेन्स ६ लाख बढी रहेको विभागका अधिकारीहरु बताउँछन् । महानिर्देशक ढकालकाअनुसार माग धान्न दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर हाल दैनिक २ हजार पनि प्रिन्ट हुन सकेको छैन । यही कारण लाइसेन्स प्राप्तीको सबै प्रक्रिया पूरा गर्दा पनि लामो समयसम्म लाइसेन्स हात पर्दैन ।

अहिले यातायात व्यवस्था विभागका केही मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक-पटक समस्या आउनेे गरेको छ । ठूलो ‘मास प्रिन्टर’ ल्याउन टेण्डर आहृवान भएको छ तर, प्रिन्टर ल्याएर छपाई सुरु गर्न अझै ६ महिनाजति लाग्ने ढकालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.