काठमाडौं, नेपालमा पनि फिजिकल फिटनेसमा ध्यान दिनेहरु प्रशस्तै छन् । अहिले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै सजग हुनु प्राथमिकताको विषय भएको छ ।
फिजिकल फिटनेसप्रति सजग हुँदै गएका नेपाली नेचुरोपेथी उपचार, मेडिकल स्पा तथा प्रकृतिक उपचारबाट समेत प्रभावित छन् । युरोपियन मुलुक फिनल्याण्डबाट सुरु भएको पानीको माध्यमाबाट उपचार पद्धति (सनस पर अक्वा) लाई अहिले संसारभर स्पाका नामले चिनिन्छ ।
इन्टरनेसनल स्पा एण्ड वेलनेस एसोसिएनका अनुसार जहाँ शरीर, मस्तिष्क र आत्मा तीनै कुराको उपचार हुन्छ अर्थात उक्त स्थानमा ती तीनै चीज प्राप्त हुन्छन् त्यस्तो स्थानलाई स्पा भनिन्छ । स्पामा पञ्च इन्द्रिय अर्थात् आँखा, कान, जिब्रो, नाक, तथा छालालाई सन्तुष्ट तुल्याउने वातावरण हुनुपर्छ ।
आँखाले हेर्दा सबै कुरा प्राकृतिक र हरियाली देखिएजस्तो हुनुपर्छ । कानले सुन्दा प्राकृतिक झरनाको छङछङसहित चराचुरुङ्गीको मीठो आवाज अनि शान्त प्राकृतिक संगीत सुनिने हुनुपर्छ । जिब्रोमा हर्बलको टेस्ट आउनुपर्छ भने नाकमा प्रकृतिक सुगन्ध आउनुपर्छ त्यसपछि मात्र छाला स्पर्श गरिन्छ जसलाई उपचार अर्थात् ट्रिटमेन्ट का रुपमा लिइन्छ ।
विशेषत : मेडिस्पा अर्थात् मेडिकल बेस्ड स्पामा केन्द्रित काठमाडौं, मीनभवनस्थित सुस्वास्थ्य अस्पतालअन्तर्गतको कैवल्या पञ्चकर्म स्पा पुग्दा माथि उल्लिखित कुरा फेला पार्न सकिन्छ । ३ बर्षदेखि दक्ष प्राकृतिक चिकित्सक, अकुपञ्चरिष्ट तथा आयुर्वेदिक थेरापिस्ट (कविराज) हरुको प्रत्यक्ष सल्लाह एवं निगरानीमा बिरामीहरुको सफल उपचार गरिरहेको सुस्वास्थ्यका अध्यक्ष सुदर्शन बस्नेत भन्छन् ।
यो उपचार पद्धति कल्पनाबाहिरको अनि विशेष छ । यसबाट कुनै साइड इफेक्ट बिना औषधि नगरी कयौं रोग निको पार्न सकिन्छ, जुन हामीलाई यस्तो पनि हुन्छ र ? भन्ने लाग्न सक्छ । कैवल्या पञ्चकर्म स्पामा विविध थरीका मसाज (आयुर्वेदिक, हटस्टोन, एन्टी स्ट्रेट, पाटली) साउना, शिरोधारा, कटीबस्ती, फुट नेक तथा हेड एन्ड सोल्जर मसाजलगाएत अकुपञ्चर, अकुप्रेसर आदि उपचार उपलब्ध छन् ।
बस्नेतका अनुसार हेल्थ प्रिभेन्सन र प्रमोसनका लागि स्पा धाउनेहरुको संख्या बढी छ, जुन साप्ताहिक वा महिनाको दुई पटक गर्नु उत्तम हुन्छ । अन्य उपचार भने चिकित्सकले तोकेअनुसार गर्नुपर्छ । नेपाल सरकारले स्पा र यस सम्बन्धी अन्य प्राकृतिक उपचार विधिका बारेमा हाल सम्म कुनै नीति निर्देशिका वा स्ट्यान्डर्ड तय नगरेकाले विभिन्न स्तरका स्पा च्याउ सरह फैलिएकोमा सुदर्शनको चिन्ता छ । बस्नेत भन्छन् जनशक्ति स्वस्थ राख्न सके नै मुलुक समृद्ध हुने हो । यो उत्तम पद्धतिप्रति सरकारको ध्यानाकर्षण आवश्यक छ ।
सानेपास्थित अमृता वेलनेसको भित्री तथा बाहिरी वातावरण भव्य देखिन्छ । यहाँ आयुर्वेदिक मसाज, शिरोधारा, बडी स्क्रब, हटस्टोन थेरापी, पेडिक्योर, मेनिक्योर, साउना, ज्याकुजी, जर्मनी क्रिमद्धारा गरिने फेसियल, क्यानेडियन उत्पादक प्रयोग गरेर गरिने जेल एक्रेलिक नेल एक्सटेन्सन आदि सेवा उपलब्ध भएको प्रबन्ध निर्देशक लिमा अधिकारी बताउँछिन् ।
परम्परागत नेपाली थिममा डेकोरेटेड फराकिला स्विट रुमहरु यहाँ १ देखि ५ घण्टाका लागि बुक गर्न पाइन्छ जसमा कपल्सहरु रिल्याक्सेसनका लागि आउँछन् । लिमाका अनुसार यहाँ घरेलु वातावरण भएकाले विशेषतः भर्खरै विवाहित नवजोडी, श्रीमान् श्रीमती, सपरिवार स्पा सेवा लिन आउँछन् ।
पूर्णरुपमा अन्तराष्ट्रिय स्ट्यान्डर्डको अमृता वेलनेस सेन्टरमा प्याकेज सेल गरिन्छ जसअन्तर्गत मेम्बरसीप लिनेहरुका लागि विशेष छुट तथा स्किमहरु उपलब्ध छन् । लिमा भन्छिन् नेपालीहरु धेरै व्यस्त हुन थाले, भर्खर भर्खर नेपालमा स्पा भित्रिँदा यसलाई लम्जरीका रुपमा लिइन्थ्यो अनि संभ्रान्त तथा पैसावालहरु मात्र जाने स्थानका रुपमा बुझिन्थ्यो तर अहिले आएर यो आवश्यकता भैसकेको छ, अहिले हरेक मानिस व्यस्त छन्, सबैजसो कम्प्युटर ल्यापटप वा मोबाइलमा समय बिताउँछन् उनीहरुका लागि शरीर, दिमाग र आत्मा यी तीनै चीजको रिफ्रेसमेन्ट र रिल्याक्सेसनका लागि स्पाको अर्को विकल्प छैन तसर्थ पनि नेपालमा समेत यसको माग बढ्दो छ ।
सन् २००८मा खुलेको ट्रयांक्युलिटी स्पाले यो क्षेत्रमा क्रान्ति नै ल्याएको हो । स्पा सर्भिसका अतिरिक्त यससम्बन्धी शैक्षिक तालिम उपलब्ध गराएर आफ्नो छुट्टै ब्रान्ड स्थापित गर्न सफल ट्रयांक्युलिटी स्पाको विशेषता आयुर्वेदिकका साथै भेराइटिज अफ मसाज र शिरोधारा नै हो ।
यसबाहेक ट्रयांक्युलिटीमा छुट्टै ब्युटी सेक्सन छ जहाँ मेनिक्योर पोडिक्योर, थ्रेडिङ, हेयर कटका अतिरिक्त फेसियल तथा सौन्दर्यसम्बन्धी अन्य सेवा प्राप्त गर्न सकिन्छ । ट्रयांक्युलिटी स्पाका प्रबन्ध निर्देशक सुरेश पुरी भन्छन् भर्खरै मात्र हामीले फोर ह्यान्ड ट्रिटमेन्ट अर्थात् एकजनालाई दुई जना थेरापिस्टले ४ वटा हातको उही चाल र उतिनै दबाबमा गर्ने मसाज सुरु गरेका छौं जुन नेपालको लागि नौलो हो ।
अर्को कुरा सोल्टी होटलस्थित ट्रयांक्यरलिटी फिटनेसमा पछिल्लो प्रविधि प्रयोग गरी कम्प्लिट हेल्थ प्याकेज सुरु गरेका छौं जहाँबाट अमेरिक, युरोप, अस्ट्रेलिया लगाएत संसारका जुनसुकै कुनामा बसेका साथीसँग रेस कम्पिटिसन गर्न सकिन्छ जसका लागि उता बस्ने साथीसँग पहिले नै टाइम निश्चित गर्नुपर्छ ।
हरेक ट्रेड मिलमा ठूला स्क्रिन छन् जहाँ विभिन्न मोडहरु जडान गरिएको छ । तपाई जंगल, रेस ट्रयाक वा रन वे केमा दौडन चहानुहुन्छ बटम थिचेपछि त्यहीँ पुगेको अनुभूति हुन्छ । स्पामा अरुको शरीरसँग डिल गर्नुपर्ने भएकाले अत्यन्त संवेदनशील रही सेवा उपलब्ध गराउनुपर्ने पुरी बताउँछन् ।
अस्ट्रेलियन थेरापिस्ट, जापानिज ब्युटिसियन, अमेरिकन स्पा प्रोफेसरद्धारा समय समयमा तालिम लिएका यहाँका थेरापिष्टहरु दक्ष एवं विषयगत रुपमा विज्ञ रहेको पुरीको दाबी छ । काठमाडौंमा मात्र नभई मुलुकका विभिन्न स्थानमा थुप्रै शाखा विस्तार गरिसकेको ट्रयांक्युलिटी स्पाको विशेषता भनेको सुलभ मूल्यमा गुणस्तरीय सेवा हो ।
वि.स २०६८ मा सुरु भएको नयाँबानेश्वरस्थित आयुष नेचुरोपेथी अस्पतालमा आयुर्वेदिक हटस्टोनलगाएत विभिन्न खाले मसाज, शिरोधारा, कटीबस्ती, साउना तथा स्टिमद्धारा लाखौं बिरामीको रोग निको पारिसकिएको संस्थापक अध्यक्ष सिर्जना श्रेष्ठ बताउँछिन् ।
श्रेष्ठका अनुसार यी प्रकृतिक उपचार हुन् जसको प्रमुख फइदा बिना साइडइफेक्ट्स कुनै पनि औषधि प्रयोग नगरी रोग पत्ता लगाउनु र दीर्घकालीन रुपमा निको पार्नु हो । अबका मानिसहरु रोग लाग्नै नदिन यस्ता सेवा निरन्तर लिने भैसकेका छन् । जुन स्वास्थ्य क्षेत्रमा आएको चेतना हो ।
अन्य स्पाको तुलनामा सुलभ मूल्यमा सेवा तथा उपचार पाइने आयुष अस्पतालमा विशुद्ध तिल एवं जडीबुटीको तेलद्धारा मसाज गरिने निर्देशक श्रवण वली बताउँछन् । हटस्टोन मसाजका लागि प्रख्यात आयुष अस्पतालमा अकुपंचर, अकुप्रेसर तथा फिजियोथेरापीका माध्यमद्धारा सेवा प्रदान गरिन्छ । वली भन्छन् यस किसिमको उपचार पद्धतिको फाइदै फाइदा छ ।
थोरै बाहेक अन्य सबैमा औषधि सेवन गर्नु नपर्ने भएकाले यसको कुनै साइड इफेक्ट छैन । अहिले नेपालीहरुमा रोग भन्दा पनि लाइफ स्टाइल प्रोब्लम बढी छ । स्पा तथा नेचुरोथेपी शारीरिक मानसिक रुपमा दिनचार्य सहज राख्ने तथा भविष्यमा एक्कासी समस्या नआओस् भनेर बढी मात्रामा लिइने पाइएको छ ।
काठमाडौंमा मात्र राम्रा स्तरका दुई दर्जनभन्दा बढी स्पा सञ्चालित छन् । यी स साना स्केलका एक वा दुई कोठका मसाज पार्लर निकै फरक देखिन्छन् जहाँ केही सय रुपैयाँमा एक वा डेढ घन्टे मसाजबाहेक अन्य कुनै सेवा उपलब्ध हुँदैन ।
अति व्यस्तता, कामको थकान, सधै टेक्नोलोजीसँग काम गर्नुपर्ने बाध्यता तथा बेफुर्सदिलो जीवनशैलीका कारण वेलनेस, रिफ्रसमेन्ट अनि रिल्याक्सेसनका लागि स्पा धाउने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ ।
लक्ष्मी भण्डारी थापा (नारी मासिक पत्रिकाबाट साभार)