जाँजरकाेट, बैशाख २०ः शुक्रबार साँझ जिल्लाको बारेकोट गाउँपालिकास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सक नवीन सहनीमाथि स्थानीय युवाहरूद्वारा भौतिक आक्रमण गरेका छन ।
आक्रमणबाट चिकित्सक सहनी घाइते भएका छन् । उनकाे अनुहारमा चाेटका कारण दुईवटा टाँका लगाइएको छ। स्थानीय युवाहरुले उनलाइ आक्रमण गरी घाइते बनाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
पन्तका अनुसार चिकित्सक सहनीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेकाे बताए । पक्राउ पर्नेमा स्थानीय तिलक सिंह, चक्र वुढा र पदम नेपाली रहेका छन् ।
सहनीमाथि आक्रमण गर्नुको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ। चिकित्सक सहनी नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि जाँजरकाेटकाे प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत थिए ।