स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

रिपोर्ट नेपाल | 2022 Jun 25 | 07:57 am 1517

काठमाडौं, असार ११ः देशभरका करिब ७ सय स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले शुक्रबार बजेट ल्याएका हुन् ।

प्रत्येक वर्षको १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने भए पनि देशभरका ४८ स्थानीय तहले बजेट पेस गर्न सकेनन् । दलीय विवाद, विकास निर्माणमा भागबन्डा किचलो, बहुमत र अल्पमत झमेलालगायत कारण कानुनमा भएका व्यवस्था स्थानीय तहले पालना गर्न नसकेको देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समय समयमा ताकेता गरे पनि लगभग ५० स्थानीय तहले बजेट पेस नगरेको प्रारम्भिक अनुमान छ । ती स्थानीय तह मन्त्रालयअन्तर्गत नरहने संवैधानिक व्यवस्थाका कारण तालुकदार मन्त्रालयलाई टेर्न छाडेका छन् ।

स्थानीय सरकारको तालुकदार मन्त्रालयका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार २९ नगरपालिका र १९ गाउँपालिकाले बजेट पेस नगरेको प्रारम्भिक प्रतिवेदन आएको छ । मन्त्रालयले बजेट पेस गरेको प्रतिवेदन लिखित वा अनलाइनमार्फत जानकारी दिन अनुरोध गर्दासमेत अधिकांश स्थानीय तहले पेस गरेको वा नगरेको जानकारी दिएका छैनन् ।

शुक्रबार बेलुकासम्म ६५ स्थानीय तहले मात्र बजेट पेस गरेको आधिकारिक जानकारी दिएका छन् । ६ सय ८८ प्रविष्टि भर्न पर्वाह नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटबाट देखिएको छ । यद्यपि, मौखिक रूपमा जानकारी माग्दा ४८ वटाले बजेट पेस नगरेको जानकारी दिएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.