स्थानीय तहका जनप्रतिनिधिहरुलाई छुट तथा पुनः सर्वेक्षण अभिमुखीकरण सम्पन्न

रिपोर्ट नेपाल | 2019 Mar 23 | 03:59 pm 2534

गुल्मी, चैत्र ९ : जिल्लाको स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई छुट तथा पुन सर्बेक्षण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम दिइएको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय गुल्मीले २०७२ सालको भूकम्पमा परि छुट तथा पुनः जाँच सर्वेक्षण सम्बन्धी यहि चैत १५ गते देखि स्थानीय तहहरुमा भुकम्पबाट क्षती भएका घरहरु छुटमा परेका वा गुनासो दर्ता गराएकाहरुको सर्वेक्षण हुने भएकाले स्थानीय तहसंग अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रमले वास्तविक भूकम्प पीडितहरु नछुट्ने र स्थानीय तहमा खटिएका इन्जिनीयरहरुलाई पनि सहज हुने कार्यलयले दावी गरेको छ ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले पहिले नै घर बनाई सकेका तर उनीहरुले तेस्रो किस्ता प्राप्त गर्न नसकेको भन्दै कसरी उनीहरुलाई अन्तिम किस्ता उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए ।

यस्तै कालिगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले कालिगण्डकी गाउँपालिका भुकम्पबाट अति प्रभावित भएको र फोक्सीङका अधिकाशं भुकम्प पीडितहरुले अन्तिम किस्ता बापतको रकम प्राप्त गर्न नसकेको भन्दै स्थानीय तहमा खटिएका इन्जिनीयरहरुमा एकरुपता नभएका कारणले भुकम्प पीडितहरुले तेस्रो किस्ता बापतको रकम प्राप्त गर्न नसकेको भन्दै गुनासो व्याक्त गरेका थिए ।

भूकम्प सम्बन्धी गुनासो व्यवस्थापनका लागि वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा प्राधिकरणबाट खटिएको इन्जिनीयर सदस्य र वडा सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै नगरपालिका वा गाउँपालिकामा गुनासो व्यवस्थापनका लागि नगर वा पालिकाको प्रमुखको संयोजकत्वमा उपप्रमख उपसंयोजक, प्राधिकरणबाट खटिएको इन्जिनीयर सदस्य, नजिकको प्रहरी चौकीको प्रमुख सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

जिल्लामा ४ हजार एक सय ४४ घर पूर्णरुपमा क्षती, एक सय ९५ आंशिक क्षती र मंसिर मसान्त सम्ममा १ हजार ९ सय ६२ जनाको गुनासो दार्ता भएको कार्यलयकी कम्प्युटर अपरेटर पार्बती खत्रीले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा जिल्लाको छुट तथा पुनः जाँच सर्वेक्षण संचालन जिल्ला समन्वय समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वास्तविक भूकम्प पीडितहरु छुट्न नहुने भन्दै स्थानीय तहमा खटिएका इन्जिनीयरहरुमा एक रुपता आउनु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.