सौर्य बत्तीले गाउँ झिलिमिली

रिपोर्ट नेपाल | 2022 Jul 04 | 09:13 am 1913

हुम्ला, असार २०ः हुम्लाको खार्पुनाथ गाउँपालिका–२ का सम्पूर्ण घरधुरी सौर्य प्यानल जडान गरेर झिलिमिली भएका छन् । सौर्य प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका गाउँवासीको झन्झट पनि हटेको छ । घाम लागेका बेला सौर्य टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आउएकी थालीगाउँकी मोतीसरा रावलले घरमा एकै पटक पाँचवटा बत्ती बल्ने सौर्य प्यानल जडान गरेकी छन् ।

घरका प्रत्येक कोठामा बत्ती राखेपछि घरै उज्यालो भएको उनले बताइन् । सौर्य बत्ती बलेपछि अब मोतीसरालगायत यस वडाका सबै महिलालाई महिनामा एक दिन दियालो खोज्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको छ । “सोलारको उज्यालोले राति अबेरसम्म काम गर्न सकिने भएको छ,” मोतीसराले भनिन् ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एउटा सय एम्पियरको ब्याट्री र सौर्य प्यानल जडान गरी बत्ती बाल्ने गरिएको बताए । सौर्य प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । वडामा रहेका आठभन्दा बढी बस्ती छन् ।

सोही गाउँपालिका–४ को सीता माध्यमिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा आएको छ । सौर्य प्यानल जडान भएपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । सौर्य बत्ती जडान गर्न प्रदेश सरकारको साढे दुई करोड बजेट खर्च भएको छ । पहिरोले पु-याएको क्षति अवलोकन गर्न आउँदा गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग यहाँका बासिन्दाले गाउँमा बत्तीको व्यवस्था गर्न माग गरेका थिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.