सोनामाई मन्दिरमा भूतमेला शुरु

रिपोर्ट नेपाल | 2018 Oct 16 | 08:55 am 1424

गौशाला, असोज ३०: परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ।

जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताए। बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ।

उक्त शक्तिपीठमा पूजा–पाठ गरे भूत प्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका व्यक्तिलाई निको हुने विश्वासमा नेपाल तथा भारतका विभिन्न जिल्लाका हजारौँ भक्तजन तथा सताइएका व्यक्ति आउने गरेको अर्का पूजारी झगरु झाले बताए।

भूत प्रेतका कारण रुँदै कराउँदै यहाँ आउने व्यक्ति दर्शन पछि पीडामुक्त भई हाँस्दै जाने गरेको यहाँका झाँक्रीहरु बताउँछन्। उक्त शक्तिपीठमा दर्जनौँ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा विराजमान हुने माता सोनामाईले तिनको पीडा हर्ने गरेको कुरा अर्का पूजारी घनश्याम झाले बताए। माताको दरवारमा एक पटक पुग्ने पीडित व्यक्तिमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास छ।

पीडित तथा भक्तजनहरुको सुविधाका लागि रात्रि बास र सुरक्षाको राम्रो प्रबन्धसमेत मिलाइएकाले यसवर्ष पाँच देखि सात लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.