सेवा अवधि विवादले संघीय प्रहरी ऐन अन्योलमा

रिपोर्ट नेपाल | 2018 May 31 | 02:03 am 4737

काठमाडौं, जेठ १७: लामोसमयदेखि विवादित प्रहरी सेवा अवधि विवाद अझै मिल्न नसक्दा संघीय प्रहरी ऐनको मस्यौदा निर्माण अन्योलमा परेको छ । अन्तिम चरणमा पुगेको संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा अवधि विवादकै कारण अन्योलमा परेको एक उच्च प्रहरी अधिकारीले बताए ।

हाल ३० वर्ष सेवा अवधि रहेकोमा नयाँ ऐनमा २८ वर्ष बनाउनुपर्ने तर्क केही प्रहरी अधिकारीहरुले गरेका छन् । अब ३० वर्ष नै कायम राख्ने कि २८ वर्ष बनाउने भन्ने विवाद भएकाले ऐनको मस्यौदाले अन्तिम रूप लिन सकेको छैन ।

कार्यावधिका सवालमा प्रहरी उच्च अधिकृतहरूको मत बाझिएको हो । आफ्नो स्वार्थअनुकूल ३० र २८ वर्षमा लबिङ चलिरहेको छ । ‘३० वर्षे कार्यावधिको सम्बन्धमा कुरा मिलेको छैन । व्यक्तिकेन्द्रित भएर कुरा उठिरहेको छ । कोही ३० वर्षे हटाउने भन्छन्, कोही कायम राख्नुपर्छ भन्छन्,’ गृहप्रवक्ता रामप्रसाद सुवेदीले भने, ‘तर, कानुन व्यक्तिकेन्द्रित भएर बन्ने होइन । गृह त्यसैको तयारीमा छ । ३० वर्षे हट्ने वा रहने विषय बहसमा छ । आउने बैठकमा यो टुंगिन्छ ।’

प्रदेश प्रहरी प्रमुख र क्षेत्राधिकारमा पनि विवाद छ । प्रदेश प्रहरी प्रमुखका रूपमा एआइजी रहनुपर्ने लबिङमा नेपाल प्रहरी छ । तर, गृह मन्त्रालय यसको विपक्षमा छ । एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाए चेन अफ कमान्ड नमिल्ने गृहको तर्क छ ।

किनभने प्रदेश प्रहरी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयमातहत रहन्छ । मन्त्रालयका सचिव नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हुन्छन् । तर, एआइजी विशिष्ट श्रेणीको कर्मचारी हुन् । दुईबीच वरीयता नमिल्ने भएपछि चेन अफ कमान्डमा समस्या आउने गृहको बुझाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.