सेवाग्राही कार्यालयमा, जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा

| 2019 Apr 17 | 07:05 am 1779

रुकुम (पश्चिम), वैशाख ४: जिल्लाको सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीनसेवाग्राहीबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लसहित १७ प्रतिनिधि र कर्मचारी कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताए । ‘भ्रमणका विषयमा सामान्य छलफल भए पनि निर्णय भएको मलाई थाहा छैन । ३० चैत र १ वैशाख बिदाको दिन भएकाले सोमबार कार्यालय हाजिर हुने भनेर उहाँहरू निस्किनुभएको हो,’ प्रवक्ता खड्काले बताए ।

भ्रमण टोलीमा कार्यपालिका सदस्य वीरसिंह विक, सहलेखापाल कवीन्द्र पुन, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक भूपालसिंह विष्ट, सुब्बाद्वय खिमप्रकाश शाह र मिनाराम केसी, आइटी अफिसर नवीन चौधरी, इन्जिनियर मोहनकुमार ओली, सवइन्जिनियर गगनसिंह ओली छन् । यस्तै, सहायक महिला विकास निरीक्षक लीला शर्मा, कम्प्युटर अपरेटर रूपक पुन, वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर बुढाथोकी, वडा १ की सचिव शारदा चौधरी पुन तथा नगर प्रहरीहरू गीता खड्का र वेगमा ओली दार्जिलिङ भ्रमणमा छन् । गाउँपालिका अध्यक्ष नरबहादुर पुनसहित केही पदाधिकारीले श्रीमान्, श्रीमती र छोराछोरीलाई पनि भ्रमणमा लगेका छन् ।

अहिले गाउँपालिकामा असिस्टेन्ट सवइन्जिनियर रुद्रगोपाल डाँगी, काशीराम खत्री, वीरबहादुर पुन, पोषण सहजकर्ता सरस्वती विक, नगर प्रहरीहरू बालकृष्ण नकाल, शंकर रोका र जोखबहादुर पुन तथा कार्यालय सहयोगी शेरबहादुर कामी र टीकाराम पुन मात्र छन् । उनीहरूमध्ये पनि धेरै फिल्डमा छन् । मंगलबार असिस्टेन्ट सवइन्जिनियर डाँगीसहित केही कर्मचारी र कार्यालय सहयोगी मात्रै गाउँपालिका कार्यालयमा भेटिएका थिए ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले गर्यो अनुमगन
सेवाग्राहीको गुनासो आएपछि मंगलबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले सानीभेरी गाउँपालिका कार्यालयको अनुगमन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले सानीभेरी कार्यालय रित्तो बनेको र सेवाग्राहीले दुःख पाएको बताए ।

‘गाउँपालिका नै खाली गरेर भ्रमणमा निस्किएको पाइयो, गाउँपालिकाको सेवा प्रवाह केही दिनदेखि ठप्प नै रहेछ,’ शर्माले भने । ठूलो संख्यामा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किए पनि कुनै निर्णय भएको प्रमाण नभेटिएको उनले बताए । आफ्नो जिम्मेवारी कसैलाई नतोकी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रमणमा निस्किएको भेटिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

आफू कतै जाँदा अर्को व्यक्तिलाई निमित्त तथा कार्यबाहक तोक्नुपर्ने हो, तर लिखित रूपमा कसैलाई जिम्मेवारी तोकेको रहेनछ,’ प्रजिअ रेग्मीले भने, ‘गाउँपालिकामा यो वर्षको हाजिरी रजिस्टरसमेत भेटिएन ।(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.