सेयर बजारमा नयाँ कीर्तिमान

| 2021 Jul 28 | 08:43 am 2193

काठमाडाैं, साउन १३ः नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले मंगलबार नयाँ कीर्तमान कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २९.२४ अंकले वृद्धि भई ३०७९.६७ अंकमा बजार बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि आइतबार नेप्सेले ३०५८.६३ अंकको रेकर्ड बनाएको थियो । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार फेरि बढेर उच्च विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यसदिन २२५ कम्पनीका ३ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार बजारमा बढी हिस्सा रहेको बैंकिङ समूहका साथै लघुवित्त होटल तथा टुरिजम र व्यापार समूह घटे पनि जलविद्युत्, जीवन र निर्जीवन बिमा, उत्पादन, विकास बैंक, फाइनान्स कम्पनी लगायतका समूहगत परिसूचक वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।

मंगलबार कारोबार भएकामध्ये ११० कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ । यसैगरी ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै भएको राजनीतिक परिवर्तनका साथै सूचीकृत कम्पनीको सकारात्मक वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थाको न्यून व्याजदर र पयाप्त तरलताका कारण बजार बढाउन भूमिका खेलेको लगानीकर्ताहरुको विश्लेषण छ । यसैगरी कोरोना महामारीका कारण लगानीका क्षेत्रहरु बन्द हुँदा अन्य क्षेत्रको लगानी समेत सेयर बजारमा भित्रिएकाले बजारमा सकारात्मक प्रभाव परेको र कारोबार समेत उच्च भइरहेको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.