उदयपुर, साउन २७: आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर एकजना पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चाय रहेका छन् । उनले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीका अनुसार उनले झुण्डिएर आत्महत्या गरेको जानकारी दिए।
उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेको डीएसपी हरिकृष्ण केसीले बताए ।
आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए ।
मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन्।
यस्तो छ, सुसाइड नोट
मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले राम्रो देख्लान्। तर, पारिवारिक वातावरण मिलाउन सकिनँ। कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो। गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिए। ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म विदा भएँ। खातामा पैसा छ। श्रीमती केही जान्दिनँ। साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।
कान्छो छोराको व्याचलर सकुला भनेको थिएँ, सकिनँ, पापी भएँ। वाणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ। अन्यमा पैसा भए पनि कमै छ।
त्यसअघि उनले लेखेका छन, ‘वीरेन्द्र काका लगायत छिमेकीले भैसीं, खसी तह लगाइदिनु । आमा साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु। सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टचारी भएँ।
अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस। म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ। सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु। गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु।
संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला। आफन्तले भैसी, खसी जतिमा हुन्छ, त्यतिमा विक्री गरी सहयोग गरि दिनु आग्रह गर्दछु।(मृतक आर्चायको सुसाइड नोटमा लेखिएको प्रहरीले दिएको जानकारी अनुसार)