काठमाडौं, असार १८ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा जनताले मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’
आफूँ निर्वाचित भएपछि भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’
मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको पनि दाबी गरे । उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिकाको टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।
पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्या रहेको पनि उनले दुखेसो पोखे । निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपजस स्थानीय सरकारहरुले पाउने गरेको बताए ।
मेयर महर्जनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुःखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखापरीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखापरीक्षण सम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताएकी थिइन् ।
०७४/७५ देखि २०७९/८० सम्मको लेखापरीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै कावा महालेखापरीक्षक राममायाँ कुँवरले पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरेकी थिइन् ।
महालेखापरीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको पनि उनले जिकिर गरिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८/७९ मा कुल २४ हजार ३ सय ३१ उजुरी परेको जसमध्ये १७ हजार १ सय ६७ उजुरी छानविन गरी जसमध्ये १ सय ३१ वटा उजुरी विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताएका थिए । प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र त्यही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको उनको भनाई रहेको थियो ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराए । उनले भने, ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको छ ।’
तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा महालेखापरीक्षकको कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट, नायब महालेखापरीक्षक, शंकर प्रसाद पन्थी, श्याम प्रसाद भण्डारी, ललितपुर जिल्लाका प्रहरी बरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहलगायत उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।