सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष हस्तक्षेप

रिपोर्ट नेपाल | 2021 Sep 16 | 05:57 pm 1689

काठमाडौं, भदाै ३१ः सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ । सार्वजनिक स्थलमा खुलमखुला धुम्रपान गर्ने र विद्यालयको १ सय मिटर वरपर सुर्तीको विक्रिवितरण गर्न रोक लगाउने कानुन कार्यान्वयनमा फितलो हुनुको
कारण सुर्ती उद्यमी व्यवसायीकै अप्रत्यक्ष हात रहेको देखिएको अध्ययनकर्ता एवम् प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताए ।

विहिवार सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्यमीको हस्तक्षेप विषयक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालबालिका र महिलाहरुले समेत सुर्ती सेवन गर्ने गरेको तथ्यांकले आफू झस्केको बताउँदै यसका लागि नीतिगत व्यवस्थालाई अझ कडाइ गर्न आफूले पहल गर्ने बताइन् ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेस सम्वाजिराओ पाण्डवले नेपालमा तीनजनामा एकजनाले अर्थात एक तिहाइ जनताले सुर्ती सेवन गर्ने गरेको र त्यसमा पनि ५० प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको डरलाग्दो तथ्यांक रहेको जानकारी दिए । नेपालको कुल गार्हस्थ उत्पादन –जीडीपी)को १ दशमलव ८ प्रतिशत सुर्ती सेवनमा खर्च हुने गरेको पनि बताए ।

वर्षेनी २५ हजार मानिस सुर्तीकै कारण मर्ने गरेको र सुर्तीकै कारण नसर्ने रोग लागेकाहरुको मृत्यु सरदर आयुभन्दा अगावै मर्ने गरेको पनि उनले जानकारी दिए । उनले सुर्तीमा करवृद्धि गरी निरुत्साहन पार्नुपर्ने, सुर्तीरहित क्षेत्र घोषणा र सवै किसिमका सुर्ती प्रचार, प्रवर्द्धनलाई निरुत्साहित पार्न सरकारलाई सुझाव पनि दिएका थिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीमा कर वृद्धि गर्न सरकारलाई आफूहरुले पनि घच्घच्याइरहेको बताउँदै सुर्तीरहित क्षेत्रका लागि प्रयास जारी रहेको जानकारी दिए । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सुर्ती नियन्त्रणका लागि समयसान्दर्भिक रुपमा कानुनको परिमार्जन आवश्यक रहेकाले ७ ओटा विषयमा संशोधनका लागि पहल भइरहेको बताए ।

दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा उद्यमीको हस्तक्षेपकै कारण अहिलेसम्म सुर्ती नियन्त्रण तथा नियमन ऐन २०६७ र नियमावलीमा भएको ९० प्रतिशत स्वास्थ्य चेतावनी अंकित चित्र सुर्तीको बट्टामा राख्ने प्रावधान कार्यान्वयन हुन नसकेको पनि बताइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारीले जिल्लास्तरमा र स्थानीय तहका कार्यकारी अधिकृतले सुर्ती नियन्त्रणका लागि गर्नुपर्ने अनुगमन झारा टार्ने तवरले वर्षको १ घण्टामात्र गर्नुमा पनि सुर्ती उद्योगीकै प्रभाव र दबाब देखिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चारकर्मी एवम् राजधानी दैनिकका वरिष्ठ उपसम्पादक पूर्णभक्त दुवालले नेपालमा वर्षेनी सुर्ती सेवनमा मात्रै ४७ अर्ब रुपैयाँ खर्च गर्ने गरेको र यसबाट उत्पन्न जोखिम तथा रोगका कारण हुने खर्च भयावह रहेको दृष्टान्त पेश गरे । हेल्थ टुडेका सम्पादक पद्मराज जोशीले स्वास्थ्य कर कोषको उपयोग स्वास्थ्य क्षेत्रमा नै गर्न लगाउनका लागि पहल हुनुपर्ने बताए ।

अध्ययन प्रतिवेदनसम्वन्धी प्रेस वक्तव्य जारी गर्दै अध्ययनकर्ता मुल्मीले चुरोट खुलमखुलम रुपमा अस्पतालको छेउछाउमा समेत विक्रि वितरण र सेवन भइरहेको , सहायक प्रमुख जिल्ला अधिकारीले वार्षिक प्रतिवेदन बनाउनका लागि र बजेट सकाउनका लागि मात्र सुर्ती नियन्त्रणको अनुगमन गर्ने गरेको जानकारी दिए। सुर्तीको कुनै पनि प्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको छ ।

सामाजिक उत्तरदायित्वको नाममा सुर्ती उद्योगले सुर्तीको प्रवर्द्धन र प्रचारप्रसार गरिरहेको छ । सुर्ती उद्योगले कम्पनीको नाममा प्रचार प्रसार तथा प्रवर्द्धन गर्न र चन्दा सहयोग दिन नहुने व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले हालैमात्र डा. भगवान कोइरालाको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई नेपालकै ठूलो चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग दिन खोजेको थियो । पछि सामाजिक दबाबपछि यो कार्य रोकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.