सुरुङमार्गसँगै बजारको समेत निर्माण हुने

| 2021 Mar 29 | 08:27 am 1969

काठमाडौं, चैत १६ः काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएर यात्रा गर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिए । उनका अनुसार उक्त ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।

उनले भने, जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भार गर्न सुरुङमार्गको प्रवेशद्वारमा ‘सर्भिस सेन्टर’ निर्माण गरिएको हुन्छ । सोही अवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि ‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो ।

महानिर्देशक थापाका अनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट)अन्तर्गत निर्माण हुन लागेको बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचना निर्माण गरिनेछ । त्यसैगरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिनेछ ।

त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिर गर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भए पनि फ्रेस हुन पाउँदा सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.