काठमाडौं, असोज २५ । तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइकेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको छ । यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा सिन्धुलीका अमर घलान रहेको जनाइएको छ । उनलाई काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार कार्यालयको टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
घलानको खुट्टामा गोली लागेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए । उनले विभिन्न ठाउँमा गोली चलाउने गरेको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ ।उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद गरेको छ । प्रहरीले घलानसँगै सर्लाहीका ३६ वर्षीय शान्त लामा र सिन्धुपाल्चोकका ३० ववर्षीय जितेन लामालाई नियन्त्रणमा लिएको छ । उनीहरूले चलाएको दुईवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।