लुटेरासँग प्रहरीको इन्काउन्टर, घुँडामुनि दुई गोली

रिपोर्ट नेपाल | 2018 Jun 21 | 09:17 pm 4312

काठमाडौं, असार ७ : नक्कली डलर देखाएर नगद लुटपाट गर्ने अम्बरबहादुर तामाङलाई काठमाडौंको मुलपानीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङले नक्कली डलरलाई सक्कली भन्दै पेस्तोल देखाएर लुट्ने गरेको प्रहरीले जनाएको छ ।

महाशाखामा आएको सूचनाको आधारमा गएको अपराध महाशाखाको टोलीलाई देखेर भाग्न खोज्ने तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीतर्फ नै आक्रमण गरेकाले दुई राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । गोली तामाङको खुट्टामा लागेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।

उनले ताप्लेजुङ फुङलिङ घरभई हाल काठमाडौं चमति बस्ने २५ वर्षका वीरेन तामाङको साथबाट १९ लाख ६० हजार, ताप्लेजुङकै कपन बस्ने राजकुमार बाँनियाको साथबाट चार लाख ९० हजार तथा स्याङ्जा घरभई हाल चितवन बस्ने राज भण्डारीको साथमा रहेको आठ लाख रुपैयाँ डकैती गर्ने तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, १२ सय अमेरिकी डलर तथा डलर साट्न प्रयोग गर्ने कागजको बिटा ८ थान बरामद गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.