काठमाडौँ, भदौ १४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले बुधबार विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको आदेश दिएको हो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले पूरक अभियोगको थुनछेकमा पक्राउ परेका पोद्दारसहित पाँच जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्। अदालतले पोद्दार, सैयद अकबर शाह, राजु दारुका, इम्तियाज उद्दिन र अबु खानलाई जेल चलान गरेको हो । कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उनीहरुलाई पुर्पक्षमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले पोद्दारसहित पाँच जनालाई ३ हजार ८ सय किलो सुन तस्करी र संगठित अपराध मुद्दा दायर गरेको हो। उनीहरुसँगै ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकद्वय बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगानाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुलाई अदालतमा उपस्थित हुन हदम्याद जारी गरिएको छ ।
गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ पर्न सकेका छैनन् । अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ ।
प्रकरणमा फरार रहेका रमेश उप्रेती र बेनु श्रेष्ठ दुबईमा पक्राउ परिसकेका छन् । उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ । शाक्यको हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीमाथि गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष अनुसन्धान टोली गठन गरेको थियो ।
टोलीले गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ । टोलीले थप ३ सय भन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।