काठमाडौं, पुस २५ : अहिले सामाजिक सञ्जाल फेसबुक , ट्वीटर र युट्युवमा निकै चर्चा छ कृष्ण र रुपाको उदाहरणीय जोडी। रुकुम सिम्लिका कृष्ण ओली। मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी यौवन, फूलजस्तै सुन्दर जीवन संगिनी। आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलो संघर्षको भारी उठाउनुपर्यो।
ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे। वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन।
आफूले कष्ट गरेर भएपनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको। केही वर्ष सानोभेरी गाउँपालिका–९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए। रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे कृष्णले। संघर्ष र पीडाकामाझ पनि बाँचिरहेको लोभलाग्दो दैनिकी, सुन्दर सपना र आशालाग्दो भविष्यको कल्पनामा बाँचीरहेको यो जोडी।
जिन्दगी सधैं सिधा रेखामा कहाँ चल्छ र ? उनीहरुको जिन्दगीको बक्र रेखा सुरु भयो त्यही दिन, अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात जेठ २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन । तर, जेठ २५ उनीहरुको जिन्दगीको घाम अस्तायो र कालो बादल लाग्यो। रुपा र कृष्णको जिन्दगीमा ११ हजार भोल्टेजको झट्काले जिन्दगीको नियती फेरि दियो र बज्रपात भयो सारा सपनामा।

११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णसँगै उनका सारा सपना पनि धुवाँधुवाँ बनायो। तुलसीपुर उपमहानगरपालिका-१४ बखरियामा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढेका थिए । करिब-करिब तार जोड्ने काम सकिएको थिए। एक्कासी आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए । विद्युतको झट्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो।
साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए। तर, अर्कैको गल्तीको सिकार भए कृष्ण। नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए। साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो । उपचार सम्भव भएन, नेपालगञ्ज पुर्याइयो । त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो।
त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो। १८ दिनको लखनउको ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन। काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन्।
कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन्। लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो। रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिन गरेको वाचा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन्।
अहिले उनीहरु काठमाडौंको कुलेश्वरमा भाडामा बस्छन्। कृष्णका दुवै हात छैनन्, देब्रे खुट्टा छैन। देब्रे खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले हारेकी छैनन्, नेपाली दाजुभाइ दिदीबहिनी आफ्नै हुन् र अप्ठ्यारोमा मद्दत गर्छन् भन्ने विश्वास बोकेकी छिन्।

अहिलेसम्म उपचार गर्दा करिब ६० लाख सकिएको उनीहरुले बताउने गरेकी छन्। रुपा भन्छिन्, ‘अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो ।’ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भन्यो। तर, हातमुख जोहो गर्नै धौं-धौं परिरहेका बेला श्रीमानका हातखुट्टाका लागि थप ५० लाख रुपाले कहाँबाट जुटाउने? रुपाले जग्गा बेचेर, ऋण काढेर अहिलेसम्मको खर्च जोहो गरिन्। रुपाका अनुसार अझै ५० लाख ऋण तिर्न बाँकी छ। कृष्णका दाइ सुशीलले घरको जायजेथा बेचेर भाइको हालसम्मको खर्च जुटाउन सक्रिय रहे। अब परिवारले सम्पूर्ण नेपाली मनहरुलाई हात फैलाएर सहयोगको याचना गरेको छ। सबैको सहयोग पाए कृष्णको शरीरमा इलेक्ट्रोनिक हातखुट्टा जोड्न सम्भव छ।
सानैमा बुवाआमाको मायाबाट अलग हुनुको पीडा भोगे, जसोतसो सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको त्यो सक्रिय जीवन अहिले बेडमा सुस्ताएको छ। नर्सिङ पढ्ने तयारीमा रहेकी रुपाको सपना चकनाचुर भएको छ। उनलाई यस्तो श्रीमानसँग बसेर के गर्छेस, छोडि दे भन्नेहरुको कमी पनि थिएन। तर, उनले हिम्मत हारिनन्, साथ छोडिनन्। उनले आफ्ना सपनालाई तिलान्जली दिइन्। पेसागत नर्स बन्ने सपना देखेकी रुपाले श्रीमानको स्याहार गरेर नर्स भएको अनुभुति गरिरहेकी छिन्।
उनलाई नर्स पढाइ दिने खर्च व्यवस्थापन गरिदिने, छात्रवृति उपलब्ध गराइदिने अफरसमेत नआएका होइनन्। तर, रुपालाई अहिले आफ्नो नर्सिङको पढाईभन्दा महत्वपूर्ण लागेको छ श्रीमानको स्याहार। उनी भन्छिन्, ‘म अहिले नै पढाई सुरु गर्यो भने श्रीमानको स्याहार गर्न पाउँदिन, त्यसैले मेरो पढाउने खर्च जुटाइदिने मनकारीलाई पनि मेरो श्रीमानमा उपचारमा सहयोग गर्न आग्रह गरेकी छु।’ 
रुपाको पनि मन छ, उनलाई पनि पीडा उत्तिकै धेरै छ। मृ्त्युको मुखबाट बल्लतल्ल श्रीमानको सास फर्किएको छ, श्रीमानको सग्लो ज्यान छैन, आफन्त र साथीभाइले कुरा काट्छन्, नर्स बन्ने सपना केवल सपनामात्र भएको छ, ऋणमा चुर्लुम्मै डुबेको छ परिवार। यी सबै सम्झिंदा कहिले एक्लै भक्कानिन्छिन् तर आफैं सम्हालिन्छिन् रुपा। उनी सोच्छिन् -आफैं रुन थाल्यो भने श्रीमानको के हालत होला? मन थाम्छिन् । यस्तो अभाव र संकटको चपेटाको चेपबाट थोरै मुस्कुराउँछिन रुपा र तल्लिन छिन श्रीमानको स्याहारमा। उनको यो सहकार्य, साथ र स्याहारलाई सलाम।
देश विदेशमा हुने मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई कृष्णको हातखुट्टा जोड्नको लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्छिन। कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन्। तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ।