सुन्दर भरतपुर बनाउने मेयर रेणुको यस्तो योजना

| 2018 Jul 17 | 09:54 pm 3390

भरतपुर, साउन १ : नयाँ आर्थिक वर्ष २०७५-०७६ को पहिलो दिन नै भरतपुरलार्इ व्यवस्थित र सुन्दर बनाउन मेयर रेणु दाहालले विशेष योजना सार्वजनिक गरेकी छन्।

शहरमा भएको अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसथापन गर्न महानगर सफल भएको उल्लेख गर्दै उनले नयाँ आर्थिक वर्षको पहिलो दिनबाटै महानगरमा तीनपाङ्ग्रे सवारीसाधन पूर्वपश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडकखण्डमा चलाउन रोक लगाउने बताएकी छन्।

भित्री सडक र राजमार्ग पार गरी जाने तीनपाङ्ग्रेलाई भने महानगरले निश्चित १६ स्थानमा क्रसरोड (बाटो काट्ने) व्यवस्था गरेको छ।

यस बिषयमा यातायात व्यवस्था विभागले गत असोजमा निर्देशन दिइसकेको भन्दै मेयर दाहालले सोही बमोजिम सरोकारवालाबीच छलफल गरी असार ९ गतेको निर्णय अनुसार कार्यान्वयन गर्न लागिएको बताइन्।

दाहालले सहरलार्इ सुन्दर व्यवस्थित गर्नतर्फ सबैलाई सहयोग गर्न आग्रह गरेकि छन्। उनले तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनपछि क्रमशः टिपर तथा साना चारपाङ्ग्रे सवारीलाई समेत व्यवस्थापन गरिने बताइन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले केही महिना अगाडिदेखिको तथ्यांक केलाउँदा सबैभन्दा बढी दुर्घटना र मानिसको मृत्यु तीनपाङ्ग्रे सवारीबाट भएको भन्दै यसलाई कडाइका नियन्त्रण गरिने बताए। भरतपुर महानगरमा मात्रै चलाइने तीनपाङ्ग्रे सवारीसाधनको संख्या तीन हजारको हाराहारीमा रहेको उनले जानकारी दिए।

यस्तो छ महानगरको आयव्यय

भरतपुर महानगरको गत आर्थिक वर्षको कुल अनुमानित खर्च ३ अर्ब ५० लाख विनियोजन गरिएकोमध्ये २ अर्ब ४१ करोड ८२ लाख २७ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको छ।

महानगरले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार चालु खर्च १ अर्ब १६ करोड १७ हजार १ सय ४ रुपैयाँ भएको हो। पूँजीगत खर्च ८५ करोड ३३ लाख ४३ हजार ४ सय ३ रुपैयाँ रहेको छ। वित्तीय व्यवस्था अन्तर्गत ८६ लाख ५८ हजार १ सय २६ रुपैयाँ र सामाजिक सुरक्षा अन्तर्गत ३८ करोड ५६ लाख ९ हजार रुपैयाँ खर्च भएको छ।

महानगरले असार मसान्तसम्म जनसहभागिताको अनुमानित आय ८८ करोड ३४ लाख ६८ हजार गरेकोमध्ये जनसहभागिताबाट ४९ करोड ९८ लाख ८७ हजार ८ सय ३१ रुपैयाँ संकलन गर्न सफल भएको छ। विभिन्न दस वटा विषयगत क्षेत्रमा तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.